‘टोर्नाडो’ को नेपाली नाम राख्न विज्ञहरु बहसमा जुट्दै

काठमाडौँ, चैत २४ । नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ ।

सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभाग लगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् । वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, ‘बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुने छ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।’

सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि मौसमविद्ले गरेका थिए । ‘स्प्याटुअल रिजोलुसन’ भन्नाले कुन क्षेत्र र कति विस्तृत विवरण देखायो भन्ने हुन्छ । एक पिक्सल बराबर १० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको विवरण तस्बिरमा थियो । नेपालमा हाल भइरहेको मौसम प्रणालीको अवस्था।

त्यो विश्लेषणले टोर्नाडो आएको प्रस्ट पारेपछि नै टोली तत्काल बारा, पर्सा अध्ययनमा जुटेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

टोर्नाडोबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु हुनुका साथै झण्डै २५ सय घर क्षतिग्रस्त भएका छन् । नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने जस्तै टोर्नाडो यहाँ देखिएको वैद्यले बताए । अमेरिकी क्षेत्रमा बढी आइरहेको टोर्नाडो पछिल्लो समय दक्षिण एसियाली मुलुकको बङ्गलादेशबाहेक अन्यत्र देखिएको थिएन ।

दक्षिण एसियामा बङ्गलादेशपछि टोर्नाडो आउने दोस्रो मुलुक नेपाल रहेको दाबी वैद्यले गरे । अमेरिकामा आउने टोर्नाडोको गति सामान्यतया दुई सय किलोमिटर प्रतिघण्टाको हुन्छ । उच्च टोर्नाडोको शक्तिशाली गति चारसय किलोमिटर प्रतिघण्टासम्म हुनेगर्छ । अमेरिकामा सन् १९२५ को मार्च १८ मा तीन राज्य प्रभावित पार्ने गरी शक्तिशाली ‘ट्रि–स्टेट टोर्नाडो’ आएको थियो । जसले सबैभन्दा लामो ३५२ किलोमिटरको बाटो बनाएको थियो । साढे तीन घण्टा लगातार त्यो टोर्नाडो चलेको थियो ।

दक्षिण एसियाली मुलुकमा भने सन् १९८९ अप्रिल २६ मा बङ्गलादेशमा ठूलो ‘धौलापुर–स्याटुरिया टोर्नाडो’ आयो । जसले करिब १३ सय मानिसको ज्यान लिएको थियो । त्यसपछि पटक पटक गरी आएको १९ टोर्नाडोमा परी विश्वमै टोर्नाडोका कारण मारिएका कुलमध्ये आधा जनसङ्ख्याको मृत्यु भएको विभिन्न तथ्याङ्कले देखाउँछ ।

नेपालमा यसपाली आएको टोर्नाडोमा भने करिब डेढसयदेखि दुईसय किलोमिटर प्रतिघण्टाको गति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोली आकारको टोर्नाडोको चौडाइ करिब दुई सय किलोमिटर अनुमान गरिएको छ । त्यस्तै, यसले असर गरेको दूरी ३० देखि ४० किलोमिटर रहेको अनुमान छ ।

सन् १९७४ मा आएको ‘१९७४ सुपर आउटब्रेक’ मा अमेरिकामा १८ घण्टामा १४८ वटा टोर्नाडो लगातार आएको थियो । जसमा परी करिब ३३० जनाले ज्यान गुमाएका थिए । त्यो आउटब्रेकको रेकर्ड सन् २०११ को सुपर आउटब्रेकले तोडेको थियो । जसमा २४ घण्टाभित्र ३६० टोर्नाडो लगातार आएको थियो ।

सुविधा र प्रविधिका हिसाबले त्यस्ता क्षति न्यून रहेको वैद्य बताउँछन् । अमेरिकामै पनि टोर्नाडो आउन पाँच मिनेट बाँकी रहँदा मात्र सङ्कटको सूचना जारी गर्न सकिन्छ । वैद्यले भने, “जमिनमुनि बनाइएको बङ्करमा पस्ने बाँच्छन् नत्र मर्छन्, नेपालमा कहिले नआएको टोर्नाडोबाट बच्ने कुनै व्यवस्था छैन ।”

विज्ञका अनुसार जलवायु परिवर्तनले प्रत्यक्ष नेपालमा टोर्नाडो ल्याएको भने होइन । तर जलवायुमा अप्रत्यक्षरुपमा विस्तारै आउँदै गरेको परिवर्तनपछि मौसममा आएको परिवर्तनका कारण यस्ता टोर्नाडो आउनेक्रम बढ्दै जानेमा भने विज्ञहरू एकमत छन् ।
वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले थपे, “बङ्गलादेशमा २० वर्षको दौरानमा देखियो, तर भारतमा अझै देखिएको छैन, नेपालमा सोच्दै नसोचेको टोर्नाडो यसपाला देखियो ।” विश्वमा पश्चिमी वायुको प्रभाव रहेकाले त्यसको मुख्य असरका रुपमा टोर्नाडो आएको विश्लेषण उनले गर्दछन् । पश्चिमी वायु शक्तिशाली हुनुमा भने ओजोन तहमा हरितगृह ग्यासको वृद्धि र विश्वव्यापी तापक्रमको वृद्धिले टेवा पुर्याएको उनको धारणा छ ।

टोर्नाडो नेपालजस्तो विकासोन्मुख देशका लागि यसपाला बारा पर्सामा देखिएभन्दा घातक हुनसक्छ । त्यसैले योजनावद्ध पूर्व तयारीमा सरकारले ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

तस्वीरः जल तथा मौसम विज्ञान विभाग

गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: