झिलमिला ताल क्षेत्रमा बृहत सरसफाई कार्यक्रम

महेन्द्रनगर, चैत २४ । भीमदत्त नगरपालिका वडा नं‍ ९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालमा सरसफाई गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्र्तगत बृहत जनचेतना मुलक सरसफाई गरिएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत पहिलो पटक सरसफाई गरिएको छ । भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा नगरस्तरीय समिति गठन गरिएपछि साझेदारीमा साप्ताहिक रुपमा सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
समुदाय प्रहरी साझदोरी समिति गठन हुनुअघि भीमदत्त नगरपालिकाले वडास्तरीय घुम्ती सरसफाई कार्यक्रम गर्दै आएको थियो ।

सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्टन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, भीनपाका नगर प्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको नं. २५ का मेजर गोरख पुजारासहित जनप्रतिनिधि, कर्मचारी, उद्यमी व्यवसायी, पत्रकार सहभागी भएका छन् ।

झिलमिला तालको परिक्रमा पथ, पूजारी आश्रम, शौचालय क्षेत्र लगायतका स्थानमा सरसफाई गरिएको छ । यसैगरी दुई वर्ष अघि तालमा खसेको रुखको केही भाग समेत हटाईएका छन् । ताल क्षेत्रबाट फोहर संकलन गरी अन्यत्र विर्सजन गरिएको छ । दैनिक ३ पटक रंग फेर्ने ताल प्राकृतिक र धार्मिक रुपमा आकर्षणको केन्द्र मानिन्छ । घना जङ्गलको विचमा भएर पनि तालमा रुखका पात नभेटिनु, पानी स्थिर रहुन, माछाका आकार स्थिर रहनु र पानीको झिलझिले पर्यटक आकर्षित हुँदै आएका छन् ।

भीनपाका नगर प्रमुख विष्टले प्राकृतिक र धार्मिक रुपमा विशिष्ठ महत्व बोकेको ताललाई पर्यटकीय गन्तव्य बनाउने पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रम अघि सारिएको बताए ।

‘डाँडाका बिचमा घना जङ्गलका विचमा भएर पनि यो तालमा कही पात भेटिदैन, पानी न बढ्छ न घट्छ, माछाको समान आकारका छन्, दैनिक रङ्ग फेर्छ’ उनले भने,‘त्यसैले यसमा कुनै न कुनै शक्ति छ, जसले यो सब भई रहेको छ, यसलाई पर्यटकीय गन्तव्य बनाउन नगरपालिका लागि परेको छ, संघ र प्रदेश सरकारसित समेत पहल गरिएको छ ।’ झिलमिला ताल क्षेत्रलाई सफा र स्वच्छ बनाउन सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीज्यू सहित जनप्रतिनिधि, नेपाली सेना, जनपद प्रहरी, उद्यमी व्यवसायी, राजनीतिक दलका नेता सबैको सहकार्य र समन्वयमा सरसफाई गरिएको बताए ।

नगरपालिकाले ताराकोटसम्म सडक पुगाएपछि झिलिमला ताल घुम्ने जाने दर्शनार्थीहरुको संख्या बढेको भीनपा वडा नं। ९ का अध्यक्ष ताराकोटसम्म बाटो पुगेपछि दर्शनार्थी तथा पर्यटकहरुको संख्या बढेको बताए । ‘अचले नआएको कुनै दिन छैन, दैनिक रुपमा आउँछन्’ वडा अध्यक्ष नाथले भने । मटेनाबाट तारकोटसम्मको १० किलोमिटरमध्ये अहिले चार किलोमिटर सडक कालोपत्रे हुन लागेको छ । अर्को वर्ष ताराकोटसम्म पक्की सडक पुगाउने गरी ट्रयाक खोलिएको छ । ताराकोटबाट तालसम्म पदमार्ग निर्माण भई रहेको छ ।

स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले झिलमिलालाई सुदूरपश्चिम प्रदेशको नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेर पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता दिएका छन् ।

‘सहज, सुरक्षित र सभ्य यात्रा बनाउन नगरपालिका पहल गरिहेको छ, पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएका छौ’ उनले भने, ‘ताराकोटसम्म सडक पुगाउने, त्यहाँ धर्मशाला बनाउने, परिक्रममा पथ पूरा गर्ने, तालको डकुमेन्ट्री बनाउने लगायतका कार्य प्राथमिकतामा राखेका छौ’ उनले भने ।

झिलमिला तालको विकास र संरक्षणका लागि गुरु योजना बनाउन बजेट विनियोजन गरिएको नगर प्रमुख विष्टले बताए ।
तालको संरक्षण र संवद्र्धनलाई सुदूरपश्चिम प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले परिक्रमा पथ, सोर्य वत्ती जडानका लागि प्रदेश सकारबाट बजेट विनियोजन गरिएको बताए । ‘राम्रो, सुन्दर, सफा स्वच्छ तालको संरक्षण र संवद्र्धनलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको छ’ उनले भने ।

सरसफाई कार्यक्रममा भीनपा–१८ का अध्यक्ष राजेन्द्र पाण्डेय, ९ का अध्यक्ष रामनाथ, १७का अध्यक्ष हिमालबहादुर चन्द, १० का अध्यक्ष प्रमानन्द जोशी, समाजसेवी रणबहादुर महरा, लोकराज जोशी, कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, संघका सदस्यहरु कृष्णदेब भट्ट, प्रेमसिंह भाट, विद्यार्थी नेताहरु कमल रोकाया, धर्मराज जोशी लगायतका स्थानीय, कर्मचारी, अधिकारकर्मी सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: