९ महिना भित्र गरे ४४ जनाले आत्महत्या

राजविराज, चैत २५ । यस वर्षको नौ महिना अवधिमा हालसम्ममा ४४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म सप्तरीमा महिला २३ र पुरुष २१ गरी कुल ४४ जनाले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । पछिल्लो फागुन र चैत महिनामा मात्र झुण्डिएर र विष सेवनगरी १५ जनाले ज्यान गुमाएका छन । तीमध्ये ११ पुरुष र चार महिलाले ज्यान गुमाएको तथ्याकंमा उल्लेख रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए।

जिल्लामा आत्महत्याको घटनामा वृद्धि भइरहेको बेला आइतबार थप एक यूवाले आत्महत्या गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी २१ वर्षिय घनश्याम यादवले आत्महत्या गरेका हुन् । आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । स्विटरको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

प्रहरीका अनुसार आत्महत्याका अधिकांश घटना प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानमा खुलेको छ । गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्या गरेको अनुसन्धानमा पाइएको छ । उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भार थेग्न नसक्दा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको संख्या उल्लेृख्य मात्रामा रहेको छ । यो समाचार आजको गोर्खापत्र अनलाइनले छापेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: