च्याम्पियन्स लिगः घरेलु मैदानमा लिभरपुलको सहज जित, पोर्तोको केही सिप लागेन

काठमाडौं, चैत २७ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार राति इङ्लिस क्लब लिभरपुलले पोर्चुगलको क्लब पोर्टोमाथि २-० को जित हात पारेको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफमा नै लिभरपुलले २-० को अग्रता लिएको थियो। खेलको पाँचौं मिनेटमा नाबी काइटाले लिभरपुललाई सुरुवाती अग्रता दिदा २६ औं मिनेटमा रोबर्टो फिर्मिनोले ट्रेन्ट एलेक्जेण्डरको क्रसमा अग्रता दोब्बर पारेका थिए।

यी दुईबीचको दोस्रो लेग अब पोर्टोको घरेलु मैदानमा अप्रिल १७ मा हुनेछ। लिभरपुल साविकको उपविजेता पनि हो। यस जितसँगै घरेलु मैदानमा लिभरपुलले यूरोपियन लिगहरुमा आफ्नो अपराजित यात्रालाई २१ खेलमा पुर्‍याएको छ। त्यसमध्ये १२ खेलमा लिभरपुल क्लिनसिट राख्न सफल भएको छ।

कमेन्ट गर्नुहोस्