किन कमजोर बन्दैछ कम्युनिष्ट आन्दोलन ?

संसदीय र गैरसंसदीय धाराबाट आएका वाम शक्तिबीच एकता भएर बनेको नेकपा एक वर्षको भयो । तर, एकता प्रक्रिया पूरा भएर सग्लो नेकपा बन्न सकेको छैन । एकता घोषणामा जुन विधि अपनाइयो, त्यसको स्वाभाविक प्रतिक्रियारप्रतिफल बाँकी एकतामा विलम्ब हो भनेर नेताद्वयले बुझेका छन् कि छैनन् कुन्नी ? एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा रूपमा सोह्रै आना कम्युनिस्ट देखिन्छ, तर अन्तरवस्तुमा कम्युनिस्ट हो कि होइन ? बहस समयसँगै पेचिलो बन्दै छ । एउटा शिविरबाट यसमाथि कम्युनिस्ट नामको अधिनायकवादी भनेर आक्रमण भइरहेको छ भने अर्को शिविरबाट नेकपा, कम्युनिस्ट नरहेको दलिल पेस गरिँदै छ । त्यसो त एकतामा सामेल भएको पूर्वमाओवादीले आफ्नो इतिहासको निकै ठूलो हिस्सा एमालेलाई कम्युनिस्ट होइन भनेर प्रमाणित गर्नमा खर्च गरेको देखिन्छ । २०७५ जेठसम्म आइपुग्दा एमाले पुनः कम्युनिस्ट बनेकाले माओवादीले एकता गरेको हो वा माओवादी आफैँ कम्युनिस्ट नरहेर एमालेसँग मिसिएको हो रु विषय रोचकसँगै गम्भीर पनि छ ।

कम्युनिस्ट हुनका लागि निश्चित तत्वहरू त्यो पार्टीले अवलम्बन गरेको प्रस्ट देखिनुपर्छ । विचाररदृष्टिकोणमा बलियो वर्ग पक्षधरता, राजनीतिमा राज्य विलोपीकरणको लक्ष्य किटानी, संगठनमा सामूहिक नेतृत्व र द्वन्द्वात्मक भौतिकवादी कोणबाट सोच्ने तरिकाको प्रयोग, कार्यक्रममा आधारभूत वर्गका जनतालक्षित र राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित, दैनिकीमा भौतिकवाद अनुकूल संस्कृति र उच्च नैतिक बलसहितको जीवन कम्युनिस्ट हुनुका आधारभूत पक्ष हुन् । कुनै राजनीतिक पार्टीले कम्युनिस्ट नाम र झन्डा प्रयोग गर्छ, तर माथिका आधारभूत तत्वहरू जीवनरव्यवहारमा प्रयोग गर्दैन भने त्यो पार्टीले कम्युनिस्ट नाम र झन्डालाई बजारको मालको रूपमा मात्र प्रयोग गरेको स्पष्ट हुन्छ । कम्युनिस्ट नाम र झन्डालाई चुनावी बजारमा लोकप्रियता हासिल गर्न अथवा त्यसलाई भोटमा बदल्नका लागि मात्र प्रयोग गरिन्छ भने त्यो पार्टी बजारको मालमा विकृत भएको निष्कर्ष निस्कन्छ ।

माक्र्सवादको चुरो समाजवाद स्थापनाको एउटा विकल्प बल प्रयोगलाई स्विकार्ने तहमा विकसित हुनु नै नेकपा कम्युनिस्ट बन्ने प्रक्रिया हो । नेकपाले एउटा विषय किटानी गर्नुपर्छ कि राजनीतिक प्रणाली बेलायती संसदीय हुने र त्यसैमा डुबेर कम्युनिस्ट पार्टीले समाजवाद ल्याउन सम्भव हुँदैन ।

एकता र उद्देश्य

किटानी गरिएको उद्देश्य (यदि छ भने) लाई एकैछिन छोप्ने हो भने एमाले र माओवादी केन्द्रबीचको मिल्ती, रूपमा एकता देखिए पनि सारमा माओवादी एमालेकरणको दृष्य सचित्र छ । यसो भन्दै गर्दा यो आलेखमा तथ्य र तर्कका आधारमा निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।

पहिलो, अनौपचारिक रूपमा ०४२ सालदेखि र औपचारिक रूपमा ०४८ सालपछि परम्परागत संसदीय प्रणालीलाई रणनीतिक रूपमा स्विकारेको एमालेको लाइनमा अलिअलि लिपपोत गरिएको त्यही परम्परागत संसदीय प्रणालीमा माओवादी आइपुगेपछि नेकपा बन्ने मैदान निर्माण भएको हो ।

दोस्रो, एकतापछि बनेको नेकपाको मार्गनिर्देशक सिद्धान्त पूर्वएमालेको कायम हुनु र विकल्प नखोजी चुनाव चिह्न पूर्वएमालेकै स्विकार्नुको के अर्थ लाग्छ ?

तेस्रो, केन्द्रीय समितिमा एमाले र माओवादीको हिस्सा क्रमशः ५४ प्रतिशत र ४६ प्रतिशत, स्थायी समितिमा ५८ प्रतिशत र ४२ प्रतिशत, सचिवालयमा ६६ प्रतिशत र ३३ प्रतिशतको हिस्सासँगै कुनै पनि प्रदेशमा माओवादीको हिस्सा बहुमतमा नदेखिनु, माओवादी अध्यक्ष दोस्रो मर्यादाको अध्यक्षको जिम्मामा रहनुले एकता होइन भन्ने तथ्य बोल्छ ।

चौथो, लेटर हेड, साइनबोर्ड र पार्टी सदस्यता–पत्रमा कम्युनिस्ट पार्टीको झन्डा नराखी प्रतीक चिह्न मात्र राख्ने तरिका पूर्वएमालेको हो, जसले एकतापछि पनि निरन्तरता पायो । पार्टी प्रकाशनको गातोमा पार्टीको मार्गनिर्देशक सिद्धान्त र ‘संसारका मजदुर एक हौँ’ भन्ने नारा लेख्ने कम्युनिस्ट परम्परा एकतापछि मेटिएको तथ्यलाई सच्याउने गरी कतै बहस गरिएको पाइँदैन किन ?

तर, एकता दुवै पार्टीको बाध्यता भएको उत्तिकै सत्य हो । बाध्यतालाई उद्देश्यसँग जोडेर हेर्ने हो भने आशावाद देख्न सकिन्छ । पूर्वएमालेको ठूलो हिस्सा परम्परागत संसदीय राजनीतिक प्रणालीबाट बायाँ पाइलो चाल्ने दिशातिर सोच्न जरुरी ठान्दैन भने पूर्वमाओवादी यो मामिलामा कुहिराको कागजस्तै देखिन्छ । आजको नेपाली समाजमा संगठित भएको दलाल पुँजीवादलाई, दलाल पुँजीवादको रूपमा स्विकार्ने र यसका विरुद्ध लडेर समाजवाद स्थापना गरिनेछ नभन्ने हो भने त्यसको अर्थ समाजवादतिर नजानु हुन्छ । त्यसकारण आजको दुनियाँमा समाजवाद स्थापनाको विकल्प खोज्ने क्रमको एउटा कडी एकता हुन सक्छ । तर, यसका लागि माथि उल्लेख भएका कम्युनिस्ट आचरण पार्टीपंक्तिको मासीसम्म घुस्नुपर्दछ । यसरी मात्र नेकपा बजारको माल होइन भन्ने सन्देशसँगै दलाल पुँजीवादसँग लड्न सक्छ र विजयी बन्न पनि ।

ज्ञान उत्पादन

जनताका लागि सोच्ने सामूहिक चेतना, वर्गमुक्तिको नेतृत्व गर्ने प्रतिबद्धता र निरन्तर कम्युनिस्ट बन्ने प्रयत्नका लागि ज्ञान उत्पादन निर्णायक पक्ष हो  । ज्ञान उत्पादन नगरी न कुनै शक्ति वामरकम्युनिस्ट बन्न सक्छ न त समाजवादतिर आन्दोलनको दिशा सोझिन्छ । यस अर्थमा नेकपाले ज्ञान उत्पादनको योजनालाई प्राथमिकतामा राखेर पहल लिनुपर्छ । कम्युनिस्ट पार्टीको संगठन भनेको ज्ञान उत्पादन गर्ने थलो हो । जुन कम्युनिस्ट संगठनले ज्ञान उत्पादनको भट्टी निर्माण गर्छ, त्यो पार्टीले मात्र क्रान्तिको नेतृत्व गर्ने सम्भावना हुन्छ । राजनीतिमात्र भएको पार्टी जसभित्र दर्शन, विचार र सिद्धान्त अटाउँदैन, त्यो संगठन कहिल्यै पनि कम्युनिस्ट बन्ने सम्भावना रहँदैन । ज्ञान उत्पादन सामूहिक र संस्थागत प्रयत्न र सदस्यको लगनशीलताबाट सम्भव हुन्छ ।

यसको अर्थ कम्युनिस्ट पार्टीले आफ्ना सदस्यका लागि लामो र छोटो अवधिका आवासीय पार्टी स्कुल चलाउनुपर्छ । नियमित प्रशिक्षण, छलफल र बहसमार्फत खोजमूलक अध्ययनमा कार्यकर्तालाई व्यस्त बनाउनुपर्छ ।

अध्ययन, बहस र चिन्तनले कार्यकर्तामा प्रश्न गर्ने संस्कार, जिज्ञासा राख्ने आँटसहित आलोचनात्मक चेत विकसित गर्छ । ‘नेताले भन्यो वा माथिकाले भने त्यसकारण ठीक छ’ भनेर स्विकार्ने चेतना कम्युनिस्ट चेतना होइन । जो–कसैले राखेको विषयप्रति आफ्नो बुद्धि, विवेक र ज्ञानमा घोटेर मात्र स्विकार्ने तरिकामा विकसित हुनु नयाँ ज्ञान प्राप्त गर्नु हो । यसरी संस्थागत रूपमा उत्पादन भएको ज्ञानलाई पार्टी निर्माण र आजका समस्यासँग जोडेर मात्र सम्पूर्ण समस्या हल गर्न सकिन्छ । ज्ञान उत्पादनको नियमित प्रक्रियाले गुणात्मक कार्यकर्ता निर्माण गर्छ । साथै नैतिकवान् नेताको जग हाल्छ । गुणात्मक कार्यकर्ताले जनतासँग प्रत्यक्ष जोडिएर संगठनात्मक काम गर्छ भने नैतिकता भएको नेताको एक अपिलमा कार्यकर्ता विश्वस्त हुन्छन् । त्यस्तो नेताको अपिलमा देश र जनता केन्द्रित गर्ने तागत हुन्छ ।

तर, आज नेकपा ज्ञान उत्पादनमा शून्यमा छ । शक्तिमा मस्ती गर्ने राजनीतिक संस्कार, पैसाका लागि नैतिकता बेच्ने गतिविधि र विचारधारात्मक राजनीतिलाई परित्यक्त राख्ने दैनिकीले ज्ञान उत्पादन आवश्यक ठान्दैन । पढ्ने र वैचारिक बहसमार्फत नयाँ दिशा दिने सन्दर्भलाई मूर्ख ठान्ने अभिव्यक्ति ज्ञान उत्पादन विरोधी सोच हो । आखिर पद, पैसा र मस्तीको जीवन प्राप्त हुन्छ भने किन दुःख गरेर पढ्ने ? भन्ने मत नेकपाभित्र बलियो छ, जुन कम्युनिस्ट चरित्र र समाजवाद विरोधी चेतना हो । कम्युनिस्टविरोधी चेतनालाई ज्ञान उत्पादन, गुणात्मक कार्यकर्ता र नैतिक बल भएका नेताको टिमले पराजित गर्ने क्षमता नेकपाभित्र छ कि छैन, खोज्नुपर्छ ।

कम्युनिस्टको वर्ग चरित्र

माक्र्सवादको अन्तरवस्तु र विश्वव्यापी बुझाइ ‘कम्युनिस्ट पार्टी सर्वहारा श्रमिक वर्गको नेतृत्व र प्रतिनिधित्व गर्ने राजनीतिक संगठन हो ।’ यद्यपि, माक्र्सवादको जन्मसँगै गैरमाक्र्सवादी धारा, जसले माक्र्सवादका नाममा माक्र्सवादविरोधी विचार राख्दै र गतिविधि गर्दै आएको छ । नेपालमा पनि विभिन्न टुक्रामा विभाजित कम्युनिस्ट नामका समूहले आफूलाई खाँटी माक्र्सवादी र बाँकी अरू सबै गैरमाक्र्सवादी भन्ने भजन मीठो गरी गाउँदै आएका छन्  । खास माक्र्सवादी को हो र को होइन ? भनेर छुट्याउने कसी उसको वैचारिक दृष्टिकोण, राजनीतिक प्रस्तावना र कार्यक्रम, दैनिक व्यवहार र नैतिक जीवन हो । यसरी हेर्दा एकाध नेताविशेषलाई छाड्ने हो भने नेपालमा आज अस्तित्वमा रहेका समूह कोही पनि कम्युनिस्ट होइन ।

नेकपाले विधानमा आफूलाई श्रमिक वर्गको पार्टी भनेर लेखेपनि प्रयोग र परिणाममा नेकपा श्रमिक वर्गको नेतृत्व र प्रतिनिधित्व गर्न सक्नेगरी बनेको छैन । यसको खास दृष्टिकोण के हो रु प्रस्ट छैन । पार्टी नेतृत्वमा व्यक्तिवादी हिरोइजम र पेटीबुर्जुवा चरित्र सघनतामा छ भने पार्टीमा बिचौलिया, नव धनाढ्य र मध्यमवर्गको बाहुल्य बढ्दो, तर श्रमिक वर्गीय दृष्टिकोण र उपस्थिति निकै कमजोर । एकातिर रातारात धनी बनेका पार्टीभित्रकै नेताको पार्टीमा हालीमुहाली छ भने अर्कोतिर गैरवाम धाराबाट नेकपामा प्रवेश गराउने र एकैचोटि नीति निर्माणको तहमा पु(याउने प्रक्रियाले श्रमिकवर्गीय दृष्टिकोणमाथि नै आक्रमण भइरहेको छ । कम्युनिस्ट पार्टीको नेतासँगै जग्गा दलाल, ठुल्ठूला ठेकेदार, म्यानपावर र शैक्षिक कन्सल्टेन्सी (कानुनी मान्यता प्राप्त मानव तस्कर)का मालिक, शिक्षा र स्वास्थ्यजस्ता सेवा क्षेत्रका व्यापारी पनि हुन पाइने सुविधाले नेकपा क्रमशः श्रमिकवर्गीय चरित्रबाट पेटी बुर्जुवा वर्ग हुँदै पुँजीवादी पार्टी बन्ने सम्भावना नजिकिँदो छ । यसलाई सच्याउने प्रयत्न गरियो भने आशा जाग्छ, तर शक्तिशाली धक्का दिनुपर्छ । सच्याउने पहल भएन वा भएको प्रयत्नले निर्णायक भूमिका खेल्न सकेन भने नेकपाको विधानमा लेखिएको श्रमिक वर्गको पार्टी भन्ने वाक्यांश माल (बजारमा बिक्री हुने र पैसा हुनेले किन्ने वस्तु)को रूपमा प्रयोग गर्न लेखिएको प्रस्ट हुन्छ ।

नेकपा श्रमिक वर्गकै पार्टी हो भने वर्ग, वर्गसंघर्ष र विरोधी वर्गलाई पराजित गर्न गरिने बल प्रयोगबारे स्पष्ट हुनुपर्छ । यसको अर्थ निरपेक्ष हिंसा माक्र्सवाद होइन भनेरै बुझ्ने हो र निरपेक्ष शान्तिपूर्ण बाटो मात्र बुझ्नु पनि माक्र्सवाद होइन । कम्युनिस्ट हुनुको नाताले बनिबनाउ राज्यसत्तालाई जस्ताकोतस्तै राखेर, पैसादेखि पैसासम्म, चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्मको मात्र राजनीतिक खेलले न कम्युनिस्ट भइन्छ, न त श्रमिक वर्गको हितमा अन्तिम रूपमा पहल लिन नै ।

त्यसकारण मात्रात्मक परिवर्तनका लागि शान्तिपूर्ण चुनावी बाटोलाई संविधान बदल्ने तहसम्म अंगीकार गर्ने, समाजवादमा पुग्ने रणनीतिक उद्देश्य (सत्ताका सबै अंगमा विचारसहितको जनशक्ति निर्माण)मा पार्टीभित्र कार्यविभाजन गर्ने र माक्र्सवादको चुरो समाजवाद स्थापनाको एउटा विकल्प बल प्रयोगलाई स्विकार्ने तहमा विकसित हुनु नै नेकपा कम्युनिस्ट बन्ने प्रक्रिया हो  ।

नेकपाले एउटा विषय किटानी गर्नुपर्छ कि राजनीतिक प्रणाली बेलायती संसदीय हुने र त्यसैमा डुबेर कम्युनिस्ट पार्टीले समाजवाद ल्याउन सम्भव हुँदैन । त्यसकारण राजनीतिक प्रणाली (प्रत्यक्ष कार्यकारी प्रमुख, सांसदलाई कानुन बनाउने मात्र जिम्मा र विज्ञ समूहबाट मन्त्री बनाउने प्रक्रिया) फेर्ने बहस र पहल नेकपाले गर्न जरुरी छ ।

संस्थागत प्रणाली

कुनै पनि क्रान्तिकारी (समाजवादतिर जाने) कम्युनिस्ट पार्टी सामूहिक नेतृत्व, क्षमताको पहिचान र केन्द्रीकरण एवं संस्थागत प्रणालीमा चल्ने राजनीतिक संगठन हो । संगठनको जीवनमा यी तीन तत्व जीवन्त प्रयोग नहुने संगठन कम्युनिस्ट पार्टी हुनै सक्दैन । सामूहिक नेतृत्व भन्नुको अर्थ समयको केन्द्रीकरण, विषय विज्ञताको केन्द्रीकरण र समाजमा रहेका मेधावी चरित्रको केन्द्रीकरण हो । यसले मात्र पार्टीभित्र गुण र गति पैदा गर्छ । पार्टीलाई संस्थागत प्रणालीमा सञ्चालन गर्ने भन्नुको अर्थ पहिलो, सबै पार्टी कमिटीको मुख्यतः नीतिनिर्माण तहको बैठक नियमित बस्ने र कमिटीले निर्णय गर्नुपर्ने क्षेत्राधिकार कमिटीले नै प्रयोग गर्ने ।

दोस्रो, कमिटीले गर्ने निर्णयमा कमिटीका सबै सदस्यको सक्रियता रहने र निर्णयको स्वामित्व पनि सामूहिक रूपमा कमिटीले लिने ।

तेस्रो, कमिटीका नियमित बैठक बस्नुको अर्थ सदस्यले राखेका फरक मतलाई पार्टीभित्र दर्ज गर्ने, छलफल गराउने र कमिटीको बौद्धिक सम्पत्तिको रूपमा संस्थागत गर्ने ।

चौथो, पार्टीको नाममा वा अख्तियारी प्रयोग गरेर आर्जन गरेको भौतिक वा बौद्धिक सम्पत्ति जहाँ बसेर काम गरेका भए पनि पार्टीका सबै सदस्यले उपभोग गर्न पाउने निश्चितता गर्नु हो । यसो भयो भने पार्टीभित्र न गुट आवश्यक हुन्छ, न त सबैले लाभको पदमा ¥याल नै काढ्न जरुरी  ।

यी चार प्रक्रिया पूरा गरी सञ्चालन भएको पार्टी संस्थागत हुन्छ, जसलाई कम्युनिस्ट पार्टी भनिन्छ ।

एकतामा सहभागी दुवै समूहमा विगतमा यस्तो अभ्यास कमजोर थियो । एकता प्रक्रियामा त्योभन्दा कमजोर अभ्यास गरियो । परिणाम प्रणाली थप कमजोर हुँदै गयो । नेकपाले विगतबाट सिक्न भ्याएको छैन वा आवश्यक ठान्दैन । विषय किनारा लागिसकेको छैन, तर संकेत विगतभन्दा लथालिंग देखिँदै छ । न केन्द्रीय कमिटीको बैठक बस्छ, न नेता कमिटीको निर्णय बोल्न बाध्य छन् । नेताले श्रमिक वर्ग, यो वर्गको आन्दोलन र कमिटीको प्रतिनिधित्व गर्दै पार्टीनीति, योजना र निर्णय बोल्ने हो । तर, हामी बेलगाम छौँ । हामीमध्ये कोही बिग्रेको रेडियोजस्तै गरी बौल्दै हिँड्छौं त कोही म, मैले र मेरो भन्दै आन्दोलनलाई व्यक्तीकरण गर्दै छौँ । कमिटीले गर्नुपर्ने निर्णय एकाध नेताले गर्ने र विनानिर्णयका आग्रह–पूर्वाग्रह बोल्दै हिँड्नु कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त र अनुभव दुवै होइन । बैठक बस्ने, तर हुकुम जारी हुने प्रक्रियाले भिन्न मतलाई गुटमा संगठित हुने वातावरण दिने देखियो । यो पनि कम्युनिस्ट पार्टीको निर्णय प्रक्रिया होइन । पार्टीको नाममा आर्जन गरेको भौतिक र बौद्धिक सम्पत्ति व्यक्तिको निजी हुने आजको प्रयोग घोर पुँजीवादी तरिका हो, जसले सबै नेता–कार्यकर्तालाई लाभको पद आवश्यक हुन्छ, तर सबैलाई लाभको पद प्राप्त हुँदैन । यस्तो भद्दा पुँजीवादी प्रयोगले संगठनमा दुःख गर्ने कार्यकर्ता समयसँगै निरास र अभावग्रस्त हुन्छन् । के हामी नेकपालाई संस्थागत रूपमा सञ्चालन गर्ने आँट गर्न सक्छौँ रु सक्छौँ भने कम्युनिस्ट बन्ने प्रक्रिया नेकपाभित्रै देखिन्छ ।

कम्युनिस्ट संस्कृति

सम्पत्ति थुपार्नका लागि जे पनि गर्ने । पद र सुविधा श्रीमान्–श्रीमती छोरा–छोरी र आफन्तलाई मात्र चाहिने । मोज–मस्तीको जीवन बिताउनका लागि जोसँग जे सर्त पनि मान्न मन्जुर हुने आजको हाम्रो मुख्य समस्या हो । कम्युनिस्ट नेता–कार्यकर्ताको सम्पत्ति र परिवारसँगको सम्बन्ध एवं दैनिक जीवनशैली बुर्जुवा वर्गको भन्दा बिल्कुल फरक साथै सर्वसाधारणभन्दा माथि उठेको हुनुपर्छ । धर्म, अन्धविश्वास र अप्रमाणितरअलौकिक वस्तुलाई हेर्ने दृष्टिकोण अध्यात्मकवाद मान्नेभन्दा भौतिकवादी दर्शन मान्ने कम्युनिस्ट बिल्कुल फरक हुन्छन् । तर, हाम्रोमा को भौतिकवादी हो र को धर्मभीरू छुट्याउनै नसक्ने अवस्था छ । कैयौँ सन्दर्भमा त जनताको चेतनाभन्दा कम्युनिस्ट कार्यकर्ताको चेतना स्तर तल छ । संस्कृतिका हिसाबले कम्युनिस्ट नेता–कार्यकर्ता र बुर्जुवा पात्रहरू उस्तै देख्न थालेपछि भनाइ र गराइमा फरक देखिने नै भयो । यही विषय उठाएर कम्युनिस्टहरूमाथि आक्रमण तीव्र बनेको हो ।

घाँटीभरि माला लगाएर मञ्चबाट भाषण गर्दा धार्मिक नेता उभिएको हो कि कम्युनिस्ट भनेर छुट्याउन मुस्किल छँदै थियो, अचेल त कम्युनिस्ट नेता कसले कति किलोका माला लगाउने भन्ने प्रतिस्पर्धामा उत्रिएको देख्दा हाम्रो चित्र र चरित्र विचित्रको देखिन्छ । कम्युनिस्ट पार्टीका शीर्ष नेता छौँ, तर कुल पूजा गर्दै, मन्दिरमा आरती लगाउँदै हिँड्छौँ र अन्धविश्वासमा विश्वास गर्छौं । कम्युनिस्ट प्रधानमन्त्री वा मन्त्री योजनाको शिलान्यासका नाममा पुजारी बन्छौँ  । कम्युनिस्ट पार्टीको रातो सदस्यता गोजीमा हाल्छौँ, तर गृहप्रवेश गर्दा कालो बोको बलि चढाउँछौँ  । धार्मिक पर्वमा टीका–जमरा मात्र लगाउँदैनौँ, संस्कृतिको जगेर्ना भनेर लाज ढाक्ने उल्टो कोसिस गछौँ । स्वर्गको अस्तित्व स्विकार्छौं, स्वर्गीय फलानो भन्छौँ र रिप लेखेर श्रद्धाञ्जली दिन्छौँ । बा–आमा मर्दा सेतैरमुडुलै भएर तेह्र दिनसम्म कोरा बस्छौँ र गाईको पिसाब खाएर चोखिएको भ्रम मात्रै पाल्दैनौँ कि मरेका बा–आमाले खान पाउँछन् भनेर वर्षैपिच्छे भातका डल्ला बारीका डिलतिर लडाउँछौँ । युवा क्रान्तिकारीले जनवादी वा प्रगतिशील ब्यानर टाँग्छन्, तर लगन नभएको दिन विवाह गर्दैनन् । सुन प्रदर्शन र तामाको ताउलामा खुट्टा धुने क्रान्तिकारी भइरहन्छन् । विवाहपछि युवती कमरेडले चुरा, पोते र सिँदुर लगाएको विचित्रको चित्र निकै बाक्लिँदो छ । केन्द्रीय कमिटीको बैठकमा जनै लगाउने र टुप्पी पाल्ने बहुमतमा देखिन्छन् ।

यी सबै चित्रले के देखाउँछ भने नेकपाको वैचारिक धरातल निकै कमजोर छ । सांस्कृतिक पक्ष माटोमा धुलिपिठो छ । हाम्रा नेता कार्यकर्तासँग के सही र गलत भनेर छुट्याउने क्षमता छैन । हामीले भन्ने गरेको भौतिकवाद कि हामीले बुझेकै छैनौँ कि भौतिकवादको नाममा त्यसैमाथि तेजाब खन्याइरहेका छौँ । नेकपाले भौतिकवादलाई व्यवहारमै मान्नेलाई मात्र पार्टी सदस्यता दिने र नेतृत्वमा लैजाने प्रक्रिया थाल्दा नेकपा कम्युनिस्ट बन्छ । अन्यथा यो बजारको मालको रूपमा प्रयोग भइरहने कुरूपता चलिरहन्छ ।

(न्यौपाने नेकपाका केन्द्रीय समिति सदस्य हुन्)

नयाँपत्रिकादैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: