नेपालीबाट पहिलो पटक मापन हुँदै

काठमाडौं, चैत २९ । नेपालले पहिलो पटक सगरमाथाको मापन गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभागले यसका लागि जनशक्ति व्यवस्थापन गरेको छ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका पराकम्पनले सगरमाथाको उचाइ घटबढ भएको विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेपछि विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका लगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो ।

यसअघि छिमेकी भारत, चीनलगायत देशले ५ पटक सगरमाथाको मापन गरेका थिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथा पहिलो पटक नेपालीले नै मापन गर्ने अवसर गौरवको विषय भएको बताउँदै यो ऐतिहासिक कार्यलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

मापनका क्रममा अत्याधुनिक प्रविधि ‘स्नो राडार इक्विपमेन्ट’ प्रयोग गरी स्वदेशी स्रोत र साधनको समेत उपयोग गरिने छ । विभागका प्रमुख नापी अधिकृतसमेत रहेका गौतमले केही वर्ष अगाडि निजामती सेवाका केही कर्मचारीले सगरमाथाको आरोहण गर्ने क्रममा सहभागी भई सफलता प्राप्त गरेका थिए । गौतम र कार्की सगरमाथाको टुप्पोसम्म पुग्ने तथा भण्डारी र धिताल आधार शिशिरको आसपासमा रही आवश्यक समन्वय गर्ने तालिका तय भएको छ । टोलीले झण्डै एक महिनामा काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

नेपाल–भारतको सीमा भएको सिरहास्थित मदार भन्ने स्थानबाट झण्डै एक वर्ष अगाडि मापनका लागि प्रारम्भिक सर्वेक्षण तथा अन्य आवश्यक काम गरिएको थियो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सगरमाथाको उचाइ मापनका लागि झण्डै २२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै प्रारम्भिक चरणका सबै गृहकार्य पूरा गरिएको बताए ।

चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ आठ हजार ८४४ मिटर तथा अमेरिकाको नेशनल जियोग्राफीले झण्डै दुई दशक अगाडि गरेको अध्ययनले आठ हजार ८५० मिटर कायम गरेको विभागले जनाएको छ । त्यसैवर्ष इटालीले गरेको अध्ययनले सरमाथाको उचाइ आठ हजार ८४७ मिटर कायम गरेको थियो । यस पटकको मापनमा कायम गरिने उचाइ नै अब आधिकारिक हुने हुँदा यसलाई महत्वका साथ हेरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: