कथा: रातका पतिहरू

ललिता दाेषी, साभार: मझेरी डट कम

एकाएक सडकमा छाएको चकमन्नताले लुनालाई कताकता शून्य लाग्छ। केही दिन अगाडिदेखि नै सडकनजिकैका घर थर्काउने खालको लाटीको आवाज कसैले सुन्न पाएका हुँदैनन्। लाटीका विषयमा भन्नुपर्दा, लाटीलाई परासी बजारमा सबैले चिन्छन्। प्रत्येक मान्छे ऊसँग परिचित छन्; कोही अपरिचित छैनन्। मानौँ सडक उसको पेवा नै हो। सधैँ सडकमा हे… हे… र ऐ… ऐ…. गर्दै चिच्याउने उसको आवाज कसैले थुन्न सकेका छैनन्। ऊ कान नै नसुन्नेचाहिँ होइन। कसैले ऐ भनेर बोलायो भने ऐ को प्रतिउत्तर ‘ऐ’मै दिन्छे। लाटीको अतित भने गर्भमै छ। कोही भन्छन्— ‘‘लाटीका बाबुआमाले नै लठ्यौरी छोरी बोझ ठानी सडकमा फ्याँकिदिएका हुन्।’’ कोही भन्छन्— ‘‘लाटीको बाबुआमा मरिसके।’’ वास्तविकतासँग सबै अनभिज्ञ छन्। उसको वर्तमान भने सबैकोसामु छर्लङ्ग छ। कसैलाई उसको वर्तमान केवल रमिता भएको छ। कसैकसैको मुटु उसलाई देख्दा नराम्रोसित कटक्क दुख्छ पनि।
i

जब लाटी सडकमा कराउन थाल्थी लुनाको सानो छोरो अपुष्ट भाषामै चिच्याउँथ्यो। लाटीलाई देखाइदिएपछि उनीहरू धेरैबेर आफ्नै भाषामा भलाकुसारी गर्थे। यो प्रकृया दैनिक नै हुन्थ्यो। लुना उनीहरूको बीचमा केवल दर्शक बन्थिन्। लाटी सडकमा नदेखिनुको रहस्य के होला ? लुनालाई पनि कताकता नमज्जा लाग्छ। छोरो क्षितिज पनि लाटीसँगझैँ अरूसँग कहिल्यै झ्याम्मिँदैन। सडकमा मौनता छाएको पनि हप्ता–दस दिन भइसकेको हुन्छ। एक बिहान क्षितिज आत्तिँदै उठेर रुन थाल्छ। लुना छोराको रुवाइले ब्यूँझिन्छिन् र घडी हेर्छिन्। छ पनि बजेको हुँदैन। बाहिरबाट आएको लाटीको आवाज सुनेपछि बल्ल क्षितिज उठ्नुको रहस्य बुझिन् लुनाले। क्षितिजलाई हतारहतार झ्यालमा ल्याएर उभ्याएपछि लाटी र क्षितिजको मायालु वार्तालाप सुरु हुन्छ। कुरा गर्दागर्दै धरधरी रोएर लाटीले पेटीकोट पल्टाउँदै आफ्नो सम्पूर्ण शरीर क्षितिजलाई देखाई। लुनाले पनि तिघ्रासम्म रगत कट्कटिएको उसको नारी शरीर देखिन्। यस्तै लाग्छ लुनालाई— ‘‘पक्कै आफूभित्रको असह्य पीडा लुकाउन नसकेरै क्षितिजको अगाडि लाटी निर्धक्क नाङ्गिएकी हो।’’

लाटीको बज्र परेको छातीमा क्षितिजले कसरी सहानुभूतिका मलम लगायो त्यो लुनाले बुझ्न सकिनन्। यति मात्र बुझिन्, उनीहरू एकअर्काका पहाडसरिका पीडाहरू साटासाट गर्छन् र आफूलाई हलुङ्गो बनाउँछन्। धेरैबेर पीडा–व्यथा ओकलेपछि हातले आँखा ओभानो पार्दै, ऊ बाटो लाग्छे। क्षितिज पनि लाटीलाई मान्छेका भीडले ओझेल पारेपछि मात्र लुनाको काखमा आउँछ।

लाटीको त्यो दुर्दशा देखेपछि लुना पनि सुखले बस्न सक्दिनन्। लाटीसँग पूर्ण परिचित परासीकै निरुता बहिनीसँग केही दिन लाटी बेपत्ता हुनुको रहस्य खोतल्छिन्। निरुता भावविभोर हुँदै भन्छिन्— ‘‘दिदी, सामूहिक बलात्कार गरेपछि इन्तु न चिन्तु भएकी थिई। सबैजना अब लाटी बाँच्न मुस्किल छ भन्थे। आज त उठेर पो हिँडिछे। लाटी मरेकी नै भए हाइसन्चो हुन्थ्यो, पापी लुटारहरूले लुट्न त पाउँदैनथे।’’

निरुताका कुरा सुनेपछि लुनालाई लाग्छ— ‘‘असभ्य गिद्धहरूले लगाएको घाउले असह्य बनेपछि आफ्नो मायालु साथीलाई देखाएकिरहिछ— लाटीले। ’’

वर्षौंदेखि परिचित लाटी कहिल्यै शालीनताको ख्याल गर्न नजान्ने थिइन। ऊ आफ्नो शरीर निर्वस्त्र पार्दिनथी। माथि छोप्न त्यति होस् नपुर्याए पनि कम्मर तल ढाक्न खोजेकै हुन्थी। ‘दिनदिनै आफू लुटिएको पीडा लाटीका मनले आफैँभित्र लुकाउँदो हो तर पेटको बच्चा नै खस्दा सायद आज उसको मातृत्व अधीर भयो। अरूले उसप्रति अन्याय गरेको भए पनि उसका लागि त्यो गर्भ मातृत्वको परिचय हुन सक्थ्यो र भविष्यको साथी पनि।’ लुनाको मन कटक्क भयो।

‘दिदी !’ निरुताको बोलीले लुना यथार्थमा आउँछिन्। निरुता भन्दै जान्छिन्— ‘‘हुन त लाटी भित्रकी चम्मु नै छे। पहिला आदर्श माध्यमिक विद्यालय नजिकै पाटीमा बस्थी। एकान्तमा धेरैले सताएपछि मान्छेहरू हिँडिरहने ठाउँमा आएर बस्न थालेकी हो। सामूहिक बलात्कारबाट त जोग्गिएकी थिई, खै पापीहरूले कसरी फँसाएछन्।’’

‘‘के त्यसो भए उसको बलात्कार पहिलेदेखि नै भइरहेको छ त ?’’ लुना जिज्ञासा राख्छिन्।

जब रात छिप्पिँदै जान्छ लाटीसामु चुरा, पोते र सिँदुर लिएका पति भनाउँदाहरू लाटीलाई फकाउन पुग्छन्। लाटीले दिउँसो बाटोमा किन नबोलेको त भनेर शरीर छुन नदिँदा भोलिदेखि बोल्ने कसम खाँदै कान समाउँछन्।

ऊ निस्फिक्रिसँग कुनै रात पनि निदाउन पाउन्न। देख्नुहुन्न सिँदुर, पोते र चुरा लगाएर हिँडेकी, त्यो ऊ आफैँले लगाएकी कहाँ हो त ! व्याधाहरू तँलाई विवाह गरेर लैजान्छु भन्दै उसलाई प्रत्येक रात नवदुलही बनाउँछन्। उसको अबोधपनको फाइदा उठाउँछन्। लाटीलाई यो सामान कसले लगाइदियोभन्दा लोग्नेले लगाइदियो भन्छे। हामी खोई तेरो लोग्ने भनेर सोध्छौँ। रातको लोग्ने दिनको उज्यालोमा हामीलाई चिनाइदिन भनेर ऊ कहिले युवक, कहिले रिक्सावाला त कहिले वृद्धका पछिपछि कराउँदै कुद्छे। रातका पतिहरू दिनको उज्यालोमा उसलाई चिन्दैनन्। लाटी दिनको उज्यालोमा रातका पतिहरूलाई चिन्दै कराउँछे— ‘‘पर्ख मायालु, फर्क है फर्क मायालु।’’ तर उसका रातका पतिहरू दिउँसो उसलाई चिन्दैनन्। ठूलो फड्को मारेर बेवास्तासाथ हिँड्छन्।

जब रात छिप्पिँदै जान्छ लाटीसामु चुरा, पोते र सिँदुर लिएका पति भनाउँदाहरू लाटीलाई फकाउन पुग्छन्। लाटीले दिउँसो बाटोमा किन नबोलेको त भनेर शरीर छुन नदिँदा भोलिदेखि बोल्ने कसम खाँदै कान समाउँछन्। लाटी सधैँझैँ उनीहरूको बनावटी कुरालाई विश्वास गर्छे। त्यो अबोधलाई छक्काउँदै प्यास मेट्न पाएकोमा गर्व गर्छन् ती नराधमहरू…..।

जब प्रत्येक बिहान हुन्छ लाटी हिजो, हिजोझैँ ठग्गिन्छे। हो दिदी, लाटी खुट्टाले आफ्नो भार थेगेदेखि यस्तै खेलमा अल्झिरहेकी छे। उसको मृत्युपछि नै नियतिमा धमिरा लागेका उसका पतिहरूले साँच्चै लाटी मरिछे भनेर छोड्लान्। अन्यथा त्यो भयावह भेलबाट किनारा लाग्न सक्दिन ऊ। यति भन्दै निरुता आफ्नो बाटो लाग्छिन्।

दिनहरू उसै गरी बित्छन्। रातका पतिहरूले लाटीलाई थिच्न, किच्न र मिच्न छोड्दैनन। लाटी आफ्ना विरहव्यथाहरू क्षितिजलाई सुनाई नै रहन्छे। उनीहरूको मित्रतामा कुनै आँच आउँदैन। अब क्षितिजलाई लाटीसामु पुग्न लुनाको सहारा पनि चाहिँदैन। ऊ लाटीको आवाज सुन्नेबित्तिकै झ्यालमा पुग्छ। लाटी झ्यालमै आएर क्षितिजलाई माया गर्दै सुमसुम्याउँछे, म्वाइँ खान्छे र ताराबाजी खेलाउँछे। लुना ती दुईको निश्चल प्रेमलाई मुग्ध आँखाले हेर्छिन्। त्यही क्रम जारी नै रहन्छ।

एक दिन साँझपख निरुता हाँस्दै लुनासामु आएर भन्छिन्— ‘‘दिदी, आज हामी सबैलाई लाटीले तीन छक पारी नि ! सधैँ लोग्ने देखाइदेभन्दा त पख पख भन्दै बाटोभरि आँखा बिछ्याउँथी। लोग्नेहरू देखेपछि खुसी हुँदै चिच्याउँथी। लोग्नेहरूले टाढैबाट कुलेलाम ठोकेपछि निराश हुन्थी र म भोलि लोग्ने देखाइदिउँला भन्ने इसारा गर्दै बाटो लाग्थी। आज त क्षितिजलाई देखाउँदै त्यही मेरो लोग्ने हो भनेर इसारा गरी। हामीले ठूलो सर होला भन्यौ। उसले होइन भन्दै मुन्टो हल्लाई बाबा… बाबा… भन्दै हातले क्षितिजको नाप देखाई। त्यतिमात्र कहाँ हो र ! ऊ भक्कानो छोडेर रोई। ऊ त्यस्तरी रोएको हामीले पहिलो पल्ट देख्यौँ। बाबा हो… बाबा हो मेरो लोग्ने बाबा हो। उसले केही शब्दमा त केही इसारामा निर्धक्कसँग क्षितिज बाबुलाई लोग्ने घोषणा गर्दै गर्वले छाती पिट्दै हिँडी। हामी सबैले चित खायौँ सायद लाटी अब बौलाही छ क्यारे।”

लुनाले लाटीलाई देऊ भन्दै क्षितिजको हातमा पाँच सय रुपैयाँको नोट दिइन्। खुसी हुँदै क्षितिजले लाटीलाई त्यो रुपैयाँ दियो

निरुताको कुराले लुनाको आँखामा ज्वारभाटा उर्लिए। उनले क्षितिजलाई चुप्प म्वाइँ खाँदै हर्षित मुद्रामा भनिन्— ‘‘लाटीले जे भनी ठीकै भनी। उसले यही भनेकी होला मेरो वास्तविक साथी त्यही हो। जो दिनको उज्यालोमा मलाई अस्वीकार गर्दैन। उसको मायामा पटक्कै स्वार्थ छैन। वासनाको गन्ध छैन। ऊ मलाई प्रेम गर्छ केवल सच्चा प्रेम।’’

निरुता नम्र हुँदै भन्छिन्— ‘दिदी, तपाईंले त हाम्रो यत्रो वर्षसम्म थुनिएको आँखा नै खोलिदिनुभयो। अबदेखि हामीहरू दिनका उज्यालोमा अलप हुने लाटीका पतिहरू सोध्दै लाटीलाई दुखाउने छैनौँ। ल त दिदी ! गएँ पनि, निरुता चिन्तित हुँदै घरतिर लागिन्।’

तीन वर्षको लामो परासी बसाइमा तोतेबोली नफुट्दादेखि सबै कुरा बोल्न सिक्दासम्म क्षितिज र लाटी एकअर्काका अभिन्न मित्र बने। परासीबाट इलाम आउने दिनसम्म पनि लाटी र क्षितिजले थुप्रै बेर कुरा गरे। लुनाले लाटीलाई देऊ भन्दै क्षितिजको हातमा पाँच सय रुपैयाँको नोट दिइन्। खुसी हुँदै क्षितिजले लाटीलाई त्यो रुपैयाँ दियो। लाटी त्यो रुपैयाँलाई ओल्टाई–पल्टाई हेर्छे। सायद, उसले त्यो नोट पहिलोपल्ट नै देखेकी होस्। उसका रातका पतिहरूले दिएकोभन्दा छुट्टै। छुट्ने बेलासम्म, पनि लाटीले क्षितिजलाई ताराबाजी गर्न सिकाई, म्वाइँ खाई, काउँबुजी लगाई र बाटो लागि। क्षितिजले लाटी ओझेल नहुने बेलासम्म हेरिरह्यो बस् हेरिरह्यो।

लुना सोच्छिन्— ‘‘सायद, सधैँ–सधैँ लाटी त्यही झ्यालमा आफ्नो मित्रको छाया खोज्दी हो। मित्र नदेखेपछि उसका आँखाहरू रसाउँदा हुन्। कसकोसामु उसका रातका पतिहरूले दिएका घृणा, व्यथा, पीडा र निन्दा बिसाउँदी हो। कठै ! कठै !! ऊ र उसको लाचार जिन्दगी।’’

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: