चेन्नई सुपर किंग्सका कप्तान धोनी कारवाहीमा परे

काठमाडौं, चैत ३० । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई अनुशासित खेलाडीका रूपमा लिने गरिन्छ । एक दशक लामो क्रिकेटयात्रामा धोनीले आफूलाई एक भलाद्मी क्रिकेटरका रूपमा चिनाएका छन् । अहिले पनि भारतमा युवा क्रिकेटरलाई अनुशासनको पाठ सिकाउँदा धोनीकै उदाहरण दिने गरिन्छ ।

तर, भारतमै चलिरहेको १२औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा धोनीले आफ्नो छवि धमिलो पारेका छन् । आइपिएलको इतिहासमा धोनीले पहिलोपटक खेल भावनाविपरीत कार्य गरेका छन् । आइपिएलको नियम तोडेका कारण धोनीले ५० प्रतिशत म्याच फी जरिवानाका रूपमा बुझाउनुपर्ने भएको छ ।

अम्पायरले निर्णय फेरे
आइपिएलअन्तर्गत बिहीबार राजस्थान रोयल्र्सले चेन्नई सुपर किंग्सको सामना गरेको थियो । चेन्नईले लक्ष्य पछ्याएको इनिङको १९.४ ओभरमा बेन स्टोक्सको बललाई अम्पायरले सुरुमा नो बल संज्ञा दिएका थिए । तत्कालै फिल्ड अम्पायरले आफ्नो निर्णय परिवर्तन गरे । चेन्नईका ब्याट्सम्यानले अम्पायरसँग नो बलकै विषयमा विवाद गरे । अम्पायरले बेनको बल नो बल नभएको निर्णय ब्याट्सम्यानहरूलाई सुनाए । राजस्थानका खेलाडी अम्पायरको निर्णयबाट खुसी नै देखिए ।

धोनी निर्णय उल्ट्याउन मैदानमा
फिल्डमा रहेका अम्पायरद्वय सुन्द्रराम रवि तथा उल्हास गान्धेले निर्णय नसच्याउँदा १९.३ ओभरमा बोल्ड भएका ब्याट्सम्यान धोनी अचानक मैदानमा प्रवेश गरे । अम्पायरको निर्णय चित्त नबुझेको धोनीको अनुहारमा स्पष्ट झल्किन्थ्यो । क्रिकेटकै नियम मान्ने हो भने आउट भइसकेका ब्याट्सम्यान पुनः मैदानभित्र प्रवेश गर्न सक्दैनन् । तर, धोनीजस्ता अनुभव खेलाडी आवेशमा आए । उनले अम्पायरहरू रवि र गान्धेसँग नो बलका सम्बन्धमा लामो विवाद गरे । धोनीले औँला देखाउँदै अम्पायरसँग विवाद गरेको दृश्य भारतीय मिडियाहरूले बारम्बार प्रचार गरेका थिए । अम्पायरले आफ्नो निर्णय सच्याएनन्, धोनी रिसाउँदै खेलाडी बक्समा फर्किए । विनाकारण मैदानमा उत्रँदै धोनीले अम्पायरलाई दबाब दिने प्रयास गरेको अन्तर्राष्ट्रिय अम्पायर के हरिहरणको दाबी

अम्पायरलाई दबाब दिने काम
भारतका अन्तर्राष्ट्रिय अम्पायर के हरिहरणले धोनीले विनाकारण मैदानमा उत्रँदै अम्पायरलाई दबाब दिने प्रयास गरेको आरोप लगाएका छन् । ‘धोनीजतिको स्टार क्रिकेटरले खेल भावनाविपरीत काम गरेको देखिन्छ, अम्पायरलाई निर्णय परिवर्तन गराउन धोनी पछि लागे,’ उनले भने, ‘हामीले धोनीबाट यसकिसिमको व्यवहारको अपेक्षा गरेका थिएनौँ ।’ यता धोनीलाई आइपिएलको लेभल–२ अनुसार कारबाही गरिएको हरिहरणले बताए । तर, धोनीको हकमा अनुशासन कमिटी निकै लचिलो भएको उनी बताउँछन् । ‘लेभल–२ को नियमानुसार ब्याट्सम्यान २ खेलका लागि प्रतिबन्धित हुन सक्छन्, तर धोनीलाई केवल ५० प्रतिशत म्याच फी जरिवाना मात्र सुनाइयो,’ उनले भने ।

प्रशिक्षक फलेमिङ स्तब्ध
चेन्नईले राजस्थानलाई ४ विकेटले हराउँदा प्रशिक्षक स्टेफन फलेमिङ खुसी देखिएनन् । विशेषतः कप्तान धोनी मैदानमा कसैसँग सल्लाह नगरी जाँदा आफूलाई आश्चर्य लागेको प्रशिक्षक फलेमिङले बताए । ‘धोनी अचानक मैदानमा गएको देखेँ,’ उनको भनाइ छ, ‘हामीसँग धोनीले वार्तालाप गर्न आवश्यक ठानेनन् ।’ दुईपटकको विश्व च्याम्पियन तथा आइपिएलकै सर्वाधिक सफल कप्तान धोनीबाट भएको यस्तो व्यवहार आफूले सधैँभरि सम्झिरहने उनले बताए । ‘धोनीको यस्तो रूप म जीवनभर भुल्दिनँ,’ उनले भने । यता राजस्थानका ओपनर जोस बटलरले धोनी मैदानमा आउनु नै गलत भएको बताएका छन् ।

के भयो, कुरा नगरौँ
खेलपछि आयोजित पत्रकार सम्मेलनमा धोनीले मैदानमा के भयो, त्यसबारे बोल्न नचाहेको प्रतिक्रिया दिएका छन् । ‘म किन मैदानभित्र प्रवेश गरेँ, त्यहाँ अम्पायरसँग के कुरा भयो, त्यसबारे केही पनि बताउन चाहँदिनँ,’ धोनीले भने, ‘कहिलेकाहीँ निर्णय चित्तबुझ्दो नहुँदा आफूलाई नियन्त्रणमा राख्न सकिँदैन, मेरो हकमा पनि यस्तै भयो ।’

स्टार खेलाडी नियमबाहिर
यसपटकको आइपिएलमा स्टार खेलाडीहरू विवादमा तानिएका छन् । अम्पायरले बारम्बार सही निर्णय दिन नसक्दा खेलाडी मैदानभित्र विवाद गर्ने गरेका छन् । लगातार ६ खेलमा पराजित भएको बेंग्लोर सुपर किंग्सका कप्तान विराट कोहली मुम्बई इन्डियन्सविरुद्धको खेलमा विवादमा उत्र्रिए । लासिथ मंलिगाको बललाई नो बल नदिएको भन्दै विराटले अम्पायरसँग वादविवाद गरेका थिए । विराटले आइसिसी इलाइट प्यानेलका अनुभवी अम्पायर रविले पनि सामान्य गल्ती गर्दा आफूलाई दुःख लागेको बताए । ‘हामी कुनै क्लब लेभलको प्रतिस्पर्धा गरिरहेका छैनौँ, हामी आइपिएल खेलिरहेका छौँ,’ कोहलीले भने, ‘यस लेभलको प्रतियोगितामा अम्पायरहरू उत्कृष्ट हुनुपर्छ ।’ यता मुम्बईका कप्तान रोहित शर्माले विराट र धोनीजतिका खेलाडीबाट नसोचेको काम भएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्