भोलिदेखि बागमती नदीमा मोटरबोट चल्ने

काठमाडौं, चैत ३० । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट (ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ। नयाँ वर्षको सुरुवातसँगै आइतबारबाट रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन हुन लागेको हो।

मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र बैसाख १ गतेबाट ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए।

उनका अनुसार तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना रहेको छ। मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने सभापति दाहालले बताए। सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट रु २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो। यो समाचार नेपाल लाइभबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: