बागमती नदीमा आइतबारबाट मोटरबोट सञ्चालन

हेटौंडा, वैशाख ०१ । २ वटा प्रदेशको ४ वटा जिल्ला जोड्ने गरी बागमती नदीमा आइतबारबाट मोटरबोट सञ्चालनमा ल्याइएको छ। प्रदेश ३ को मकवानपुर र सिन्धुली, प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको मध्यभागमा पर्ने गरी बागमती नदीबाट यात्रा गरेर गन्तब्यमा पुग्नेगरी मोटरबाट नयाँ वर्षको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको हो।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद् तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको नेतृत्वमा बागमती नदीबाट पनि चार जिल्लाका नागरिकलाई यात्रा गर्न सक्नेगरी मोटरबोट सञ्चालनमा ल्याइएको हो। मकवानपुरको बागमती गाउँपालिका २ राईगाउँ, सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपाकिला, सर्लाहीको बागमती नगरपालिका र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नागरिकलाई जलमार्गबाट गन्तब्यसम्म पुग्न सहज हुने बताइएको छ।

सांसद दाहालको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ सहयोगपश्चात् अहिले मकवानपुरको बागमती गाउँपालिकाका स्थानीय महिलाको उपभोक्ता समिति गठन गरेर मोटरबोट परीक्षणमा ल्याएको हो। राईगाउँको बागमती जलमार्ग उपभोक्ता समितिको आयोजनामा चन्द्रपुरको पर्यटकीय स्थल नुनथरमा भब्य कार्यक्रमका साथ सञ्चालनमा ल्याइएको हो।

जलमार्ग निर्माण भएपछि बागमती नदीमा व्यवसायिक रुपमा मोटरबोट सञ्चालनमा ल्याइने छ। रौतहटको चन्द्रपुर नुनथर क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्मको सात किलोमिटर क्षेत्र पैदलमार्गबाट निकै घुमाउरो पर्ने भएपछि जलमार्गबाट यात्रा गर्नका लागि मोटरबोट सञ्चालनमा ल्याइएको जलमार्ग उपभोक्ता समितिका अध्यक्ष रीता पहाडीले बताइन्। आइतबारबाट सुरु भएको मोटरबोटमा ११ सिट क्षमता छ। मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

जलमार्गलाई भविष्यमा थप विस्तार गरिने र मोटरबोट पूर्ण रूपमा दुई प्रदेशका चार जिल्लाका नागरिकलाई यात्रा गर्न सहज बनाउने सँगै पर्यटक पनि भित्र्याउने सभापति दाहालले बताए। नेपालमा समुद्रसँग जोड्ने जलमार्गलाई केन्द्र सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रवर्द्धन तथा स्थानीय जनताको दैनिकीलाई सहज बनाउन मोटरबोट सञ्चालनमा ल्याउन लागिएको भन्दै सभापति दाहालले जलमार्गले दुर्गम मानिने राईगाउँको जीवनशैलीलाई सकारात्मक परिवर्तन गर्ने दाबी छ।

तत्कालको लागि यहाँ ल्याइएको जहाज यसअघि चितवनको नारायणी नदीमा सञ्चालित जहाज हो। सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो। ‘सडकबाटो मात्रै बिकास होइन। यसले पर्यटन प्रबर्द्धनसँगै स्थानीयलाई व्यवसायिकता प्रदान गर्न सक्छ’ दाहालले भने,‘ विकासको नाममा बजेट छरेर मात्रै हुन्न नागरिकलाई रोजगार दिने कोसिस हुनुपर्छ।’ तत्कालको लागि भाडामा लिइएको मोटर बोटको मासिक २ लाख भाडा तिर्नु पर्छ। सरकार निकायबाट सञ्चालन गर्दा झन्झटिलो हुने भएकोले यसको ब्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी भएको छ। यो समाचार थाहा खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: