बेइजिङमा राष्ट्रपति भण्डारीको स्वागत गर्न अनलाइन फारम भर्न सूचना

बेइजिङ, बैशाख ४ । पहिलो पटक चीन भ्रमणमा आउन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत समारोहमा सहभागी हुन नेपाली दूतावास बेइजिङले पाँच दिन अघि नै अनलाइन फारम भरेर नाम दर्ता गरिसक्नुपर्ने सूचना जारी गरेको छ।

चीनले अप्रिल २५ र २६ मा बेइजिङमा आयोजना गर्ने बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय फोरममा सहभागी हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारी २४ अप्रिल (११ वैशाख)मा चीन भ्रमणमा आउँदै छिन् ।

बेइजिङस्थित नेपाली दूतावासले मंगलबार जारी गरेको सूचनामा राष्ट्रपति भण्डारीको नाम उल्लेख नगरी ‘नेपालबाट हुन गइरहेको उच्चस्तरीय भ्रमणको सिलसिलामा आयोजना हुने स्वागत समारोहमा उपस्थितिका लागि चीनमा रहेका नेपालीलाई आमन्त्रण’ गरिएको छ।

वैशाख १४ गते (२७ अप्रिल, शनिबार) साँझ ६ः४५ बजेसम्म दूतावासमा प्रवेश गरिसक्नुपर्ने उल्लेख गरिएको सूचनामा भनिएको छ, ‘कार्यक्रममा सहभागी हुन चाहने प्रत्येक व्यक्तिले नाम दर्ता गर्नु अनिवार्य भएकाले त्यसका लागि क्यूआर कोड स्क्यान गरि फारम भर्नुहोला ।’

सूचनामा कार्यक्रमको पाँच दिन पहिले २२ अप्रिलको साँझ ५ बजेसम्म अनलाइन दर्ता गरिसक्नुपर्ने जनाइएको छ।

नेपाली राष्ट्रपतिलाई बेइजिङले आमन्त्रण गरेको यो पहिलो पटक हो। यसअघि गणतन्त्र नेपालका राष्ट्रपति रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि उनी राजधानी बेइजिङ पुगेका थिएनन्। पहिलो पटक सन् २०१० मा यादव सांघाई वल्र्ड एक्स्पोमा सहभागी भएका थिए भने दोस्रो पटक बोआओ एशिया फोरममा ।

भण्डारी नेपालको दोस्रो राष्ट्रपति भएपछि ‘नेपालमा कम्युनिष्ट राष्ट्रपति भएको’ भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ताले खुशी मनाएका थिए । उनै राष्ट्रपति भण्डारीलाई चीनले बीआरआई फोरमको अवसर पारेर बेइजिङ निम्त्याएको हो । चीनको सियान हुँदै बेइजिङ पुग्ने राष्ट्रपति भण्डारी चीनका राष्ट्रपति सी चिनफिङसहित अन्य देशका राष्ट्र र सरकार प्रमुखहरूसँग बीआरआई फोरमको बैठकमा सहभागी हुनेछिन् ।

राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीसँग छुट्टै भेटवार्ता गर्ने र त्यसक्रममा भदौमा भएको सहमतिअनुसार नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम छ । यो प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउन सक्ने छ।

राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङमा अन्तर्राष्ट्रिय बागबनी प्रदर्शनीमा सहभागी हुनेछिन् । जहाँ नेपालले ‘लुम्बिनी पीस गार्डेन’ बनाएको छ । बेइजिङबाट चीनको स्वशासित क्षेत्र तिब्बत पुगेर राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: