बसबाट खसेर बालकको मृत्यु

सुनसरी, वैशाख ४ । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीमा बसबाट खसेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ५९६६ नम्बरको बसमा भण्टाबारीमा झर्ने क्रममा बालक खसेका प्रहरीले जनाएको छ । सप्तरीको भारदहबाट पानी बेचेर भण्टाबारीतर्फ आउँदै गरेका बालक बसबाट खसेका हुन् । घटनापछि बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ।

कमेन्ट गर्नुहोस्