कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली ३ ‘ए निर्माणको अन्तिम चरणमा

काठमाडौं, वैशाख ४ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली थ्रि एको करिब ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरु भएको छ ।

हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्य सम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो ।

विद्युत गृह, सुरुङ लगायतका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो। प्रसारण लाइनको तीनमध्ये दुईवटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभाषकुमार मिश्रले जानकारी दिए । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करिब ५ सय मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’,उनले भने । मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो ।

नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् १७ वैशाख (३) अप्रिल २०१९) भित्र ल्याउने गरी काम भइरहेको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घिसिङले जानकारी दिए । उनले मुख्य सुरुङमा पानी हाल्ने प्रक्रिया सुरु भएको बताए । ‘१७ वैशाखभित्रमै एउटा युनिटबाट विद्युत उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ’,उनले भने। दोस्रो युनिट (३ मेगावाट)बाट असारभित्रमा विद्युत उत्पादनको लक्ष्य राखिएको छ ।

प्रसारण लाइनसहित कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङ लगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो । भुकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: