वंशजको नागरिकता दिने बाटो खुल्यो

काठमाडौं, वैशाख ४ । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयनको बाटो खोलिदिएको छ ।

परिपत्र तत्काल यथास्थितिमा राख्न यसअघि एकल इजलासले जारी गरेको आदेश निरन्तरता दिन नपर्ने ठहर सर्वोच्चले गरेको हो । यसअघिको आदेशले निरन्तरता नपाएपछि परिपत्र कार्यान्वयन गर्न सरकारलाई कानुनी बाटो खुलेको हो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले यसअघिका आदेशलाई निरन्तरता दिन नपर्ने आदेश जारी गरेको हो । गत चैत २५ गते न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले परिपत्र यथास्थितिमा राख्न आदेश दिँदै मंगलबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो । दुवै पक्षको छलफलपछि संयुक्त इजलासले यसअघिको आदेशले निरन्तरता नपाउने आदेश सुनाएको हो ।

प्रतिनिधिसभामा नागरिकता विधेयक विचाराधीन रहेको अवस्थामा प्रशासनिक परिपत्रबाट नागरिकता वितरण गर्न लागिएको भन्दै उक्त निर्णय रोक्न वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले चैत २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

गत १९ गते गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई आवश्यक प्रक्रिया पु¥याई वंशजको नागरिकता दिन परिपत्र गरेको थियो । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा उक्त परिपत्र गरिएको थियो । नागरिकता विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहँदा बालिग भइसकेका व्यक्तिको नागरिकता अभावकै कारण वृत्ति विकासमा अवरोध भएको भन्दै सरकारले प्रशासनिक निर्णय गरेको थियो ।

गृह मन्त्रालयका अनुसार २०६५ मङ्सिर १० पछि जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने कुनै पनि फाराम स्वीकार गरिएको छैन । तत्कालीन अन्तरिम संविधान जारी भएको मितिलाई आधारमा मानेर सरकारले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने ‘कट अफ डेट’ मानेको थियो । नागरिकता नियमावली प्रमाणीकरण भएको मितिले दुई वर्षसम्म अर्थात् २०६५ मङ्सिर १० सम्म आवेदनको समय तोकिएको थियो ।
मन्त्रालयको असार मसान्तसम्मको रेकर्ड अनुसार हालसम्म यसरी नागरिकता लिनेको सङ्ख्या एक लाख ९० हजार ७२६ रहेको छ । हाल संसदमा विचाराधीन रहेको विधेयकमा पनि जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई कुनै मितिसम्मको ‘कट अफ डेट’ राखेर नागरिकता दिने भन्ने पनि विवाद छ ।

तर, नेपालको संविधानले भने संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । २०७२ असोज ३ गतेभित्र जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता पाउने स्पष्ट व्यवस्था संविधानले गरेको छ । संघीय संसद्को दोस्रो अधिवेशनमा दर्ता भएको नागरिकता विधेयक भने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: