माछापोखरीमा अपरिचित व्यक्तिद्वारा विष हाल्दा क्षति

रौतहट, वैशाख ५ । अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिंदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकम बराबरको क्षति भएको हो । साढे दुुई बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा रोहु, नैनी, बिग हेड कार्प, इजरायल, सिल्भर कार्प, ग्रास कार्पजस्ता विभिन्न जातका छिटो हुर्कने र महँगोमा बिक्री हुने खालका माछा र भुरा हालिएका थिए ।

याे पनि पढ्नुस  एमाले सांसदकै वडामा कांग्रेसले पछार्यो एमालेलाई

पोखरीमा विष हालिदिएपछि तयारी माछा र भुरा सबै मरेको व्यवसायी महतोले बताए । पोखरीलाई सफार्इ गरेर फेरि माछापालन गर्न योग्य बनाउन पनि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेकोे उनको भनाइ छ। पोखरीमा विष हालेको केही समयपछि माछा मर्न लाग्दा मात्र आफूले थाहा पाएको महतोले बताए । पोखरीमा विष हालेका कारण पछिल्लो ३ वर्षको मिहिनेत खेर गएको उनले गुनासो गरे । नेकपा निकट मानिएका पीडित महतोले राजनीतिक पूर्वाग्रह राखेर कसैले जानीजानी पोखरीमा विष हालिदिएको दाबी गरे।

याे पनि पढ्नुस  प्रभु साहको सांसद विकास कोषबाट ९५ छात्रालाई साइकल वितरण

उनले वैशाखमा बिहेका धेरै लगन भएकाले राम्रो आम्दानी हुने उद्देश्यले पोखरीमा तीन केजीसम्मका माछा हुर्काएका थिए । मंगलबार बेलुकी अपरिचित व्यक्तिले पोखरीमा विष हालिदिएकाले ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले दाबी गरे । उनका अनुसार ३ किलोसम्मका झन्डै ३० क्विन्टल ठूला माछा र भर्खरै हालेका ८० हजार भुरा मरेकाले ठूलो नोक्सानी भएको छ।

ऋण काढेर माछापालन गरेका उनले कसैले रिसिइबीका कारण विष हालिदिएकाले आफ्नो मेहनत र लगानी सबै खेर गएको गुनासो गरे। उनले विष हाल्ने व्यक्ति पत्ता लगाई कडा कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन् । घटना व्यक्तिगत रिसिइबीका कारण भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुख डिएसपी नवीन कार्कीले बताए । उनले घटनाको विषयमा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको तथा पोखरीमा मरेका माछा र पोखरीको पानी ल्याब जाँचका लागि पठाएको बताए ।

कमेन्ट गर्नुहोस्