ट्राफिकलाई तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता

काठमाडौं, वैशाख ६ । अब सडकमा खटिने ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले ट्राफिक प्रहरी प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका(२०७५ लाई स्वीकृत गरेसँगै ट्राफिक प्रहरीले प्रोत्साहन रकम पाउने बाटो खुलेको हो ।

बिहीबार सञ्चार मन्त्रालयद्वारा गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ट्राफिक प्रहरी प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका(२०७५ स्वीकृत गरेको जानकारी दिएका थिए।

महानिरिक्षक सर्वेन्द्र खनालका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिका बमोजिम अब ट्राफिक प्रहरीमा कार्यरत प्रहरीहरुले आफ्नो तह अनुसार प्रोत्साहन भत्ता प्राप्त गर्नेछन् । उनको अनुसार ट्राफिक प्रहरी जवान र हवल्दारलाई तलबको ४० प्रतिशत, जुनियर अफिसरलाई २० प्रतिशत र सिनियर अफिसरलाई १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

‘दिनरात सडकमा खटिने ट्राफिक प्रहरीका लागि यो व्यवस्थाले थप उर्जा दिने छ’, उनले भने, ‘पहिलो चिट काटेको आधारमा वितरण गरिने भत्ताका कारण धेरै गुनासो आएकाले तलबकै आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गर्नका लागि हामीले प्रस्ताव लगेका थियौं ।’

प्रहरी महानिरीक्षक पदमा बढुवा हुनुअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा डिआईजी रहेका खनालले नै ट्राफिक प्रहरीको प्रोत्साहनका लागि प्रस्ताव तयार पारी गृहमा पेश गरेका थिए । सो प्रस्तावलाई मन्त्रालयबाट सदर गर्दै गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद बैठकमा लगेका थिए ।

‘म ट्राफिक महाशाखाबाट मुख्यालयमा प्रवेश गर्दा नै धुँवा धुलो नभनी दिनरात खट्ने ट्राफिकका लागि केही गर्छु भनेको थिएँ’, उनले भने, ‘आज मन्त्रिपरिषदले प्रोत्साहन भत्ता दिने निर्देशिका पारित गर्दा निकै खुशी भएको छु।’

महानिरिक्षक खनालले ट्राफिक प्रहरीलाई निर्देशिका नै बनाएर प्रदान गर्न लागिएको थप भत्ताका कारण उनीहरुको काममा सकारात्मक असर देखिनेमा आफू आशावादी रहेको दाबी गरे । ‘थोरै तलबमा सडकको घामपानी, धुँवाधुलो र यात्रुहरुको गाली खाएर काम गर्ने जवानहरुलाई भत्ताले उर्जा दिन्छ’, उनले भने, ‘जथाभावी चीट काट्ने गरेको गुनासो पनि कम हुने आशा राखेको छु ।’

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता अबदेखि आउने भएपछि ट्राफिक प्रहरी खुसी भएका छन् । यसअघि ट्राफिक प्रहरीले चिट काटे वापत पाउँदै आएको भत्ता र यो भत्तामा नै फरक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। महनगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले सरकारले गरेको व्यवस्थाले कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीको मनोबल बढेको बताए ।

ुट्राफिकमा काम गर्न आउने भन्दा जाने क्रम बढेको थियो, यो समस्यालाई पनि प्रोत्साहन भत्ताले सम्बोधन गर्ने आशा छ,ु उनले भने, ‘ट्राफिक प्रहरीमा मात्रै नभएर यसले समग्र रुपमा सडकसम्म नै सकारात्मक उर्जा सञ्चय गर्ने अपेक्षा लिएका छौं।’ हाल उपत्यकामा मात्रै लगभग १४ सय ट्राफिक प्रहरी कार्यरत छन्। कान्तिरपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्