सरकारले काम गर्न सकेनः सभापति देउवा

काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् ।

नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौंले शुक्रबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,’ उनले भने ।

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ । कार्यक्रममा काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारले कुरामात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । ‘नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,’ उनले भने ।

काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । ‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्छ,’ उनले भने ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्रभागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसंघलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए ।

नेविसङ्घका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसंघ उत्रनुपर्ने बेला आएको उल्लेख गरे । नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्यले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गरे । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: