भरतपुर प्रमुख रेणु दाहालद्वारा एचआईभी संक्रमित बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा घोषणा

चितवन, वैशाख ६ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले एचआईभी संक्रमित बालबालिकाको निःशुल्क स्वास्थ्य बिमाको घोषणा गरेकी छन् ।

शुक्रबार भरतपुरमा भएको नगर बाल भेलामा प्रमुख दाहालले महानगरका भएका १९ जना एचआईभी संक्रमित भएका बालबालिकाको स्वास्थ्य बिमाको घोषणा गरेकी हुन् । कार्यक्रममा प्रमुख दाहालले भने, ‘एचआईभी संक्रमित बालबालिकाको स्वास्थ्य बिमाको सम्पूर्ण खर्च महानगरपालिकाले नै व्यहोर्ने छ ।’

कार्यक्रममा प्रमुख दाहालले आजका बालबालिका भोलिको कर्णधार भएका बताउँदै भने, ‘संविधानले ग्यारेन्टी गरेका बालबालिकाको हकअधिकार सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको छ ।’ कार्यक्रममा उहाँले बालबालिकाको क्षमता विकासको लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । उनले भने, ‘महानगरले बालबालिकाको लागि छात्रवृत्ति दिइरहेको छ, क्षमता विकासको लागि सामाजिक शाखाबाट विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।’

कार्यक्रममा महानगर प्रमुख दाहालले छिट्टै भरतपुर महानगरपालिकालाई बालश्रम मुक्त महानगर बनाउने प्रतिबद्धता गरेका थिए । उनले सीमित बजेटका बावजुद पनि महानगरपालिकाले बालबालिकाको क्षेत्रमा अनेकौं कामहरु गरिरहेको बताइन् ।

कार्यक्रममा उनले भने, ‘महानगरका केही वडाहरु, केही टोलहरु बालश्रम मुक्त भइरहेका छन्, छिटै सिङ्गो महानगरलाई बालश्रम मुक्त महानगर घोषणा गर्ने छौंं ।’ कार्यक्रममा राष्ट्रियसभाका सदस्य राममणि बिडारीले बालबालिकालाई मकैको घोगो फलाउने र धानको बाला झुलाउने शिक्षा चाहिएको बताए । कार्यक्रममा उनले भने, ‘अब सैद्धान्तिक मात्र होइन, व्यवहारिक शिक्षा चाहिन्छ, त्यसकारणले भरतपुर महानगरले त्यस्तै खालको शिक्षा नीति ल्याउन जरुरी छ ।’

कार्यक्रममा उपप्रमुख पार्वती शाहले आजका बालबालिका भोलिका कर्णधार भएको बताए । उनले भने, ‘राष्ट्रिय निर्माणमा बालबालिकाको ठूलो भूमिका रहेका छ, यसकारण बालबालिकाको हकअधिकार सुनिश्चित गरिनुपर्छ र महानगरपालिकाले बालबालिकाको हकअधिकार सुनिश्चित गरिहेको छ ।’

कार्यक्रममा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, सामाजिक विकासका तुलसीप्रसाद श्रेष्ठललगायतले मन्तव्य दिएका थिए । बाल भेला नगर बाल सञ्जालकी अध्यक्ष खुसी नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा भरतपुर महानगरका २९ वडाबाट बालबालिकाहरुको प्रतिनिधि उपस्थित भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: