कतार नेपालको खानेपानी किन्न इच्छुक

काठमाडौं, बैशाख ०७ । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा मन्त्रालयले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने जनाएको छ । खाडी राष्ट्रमा खासगरी ग्लेसियस वाटर (हिमनदीको पानी) र भारत तथा बंगलादेशमा पानीको थोक वितरण गर्न सकिने सम्भावना देखाइएको छ । नेपालमा दैनिक कुल दुई सय २५ अर्ब क्युबिक मिटर पानी बग्छ । त्यसको १५ प्रतिशत मात्रै नेपालको कुल उपभोग क्षमता हो ।

बाँकी ८५ प्रतिशत पानी खेर गइरहेको छ । सहसचिव भट्टले भारत र बंगलादेशमा भने ठूला नदीका पानी पाइपबाट वितरण गर्न सकिने बताए । ‘थोक वितरण प्रणालीअनुसार नेपालमा ७० प्रतिशत उपयोग गर्ने र बाँकी ३० प्रतिशत भारत र बंगलादेशमा निर्यात गर्न सकिन्छ,’ उनले भने ।

यी हुन् सम्भावित स्रोत क्षेत्र
मन्त्रालयले हिमनदीबाट पानी उत्पादन गर्न सकिने र थोक वितरण गर्न सकिने सम्भावित क्षेत्रको पहिचान गरेको छ । १५ वटा हिमनदी र कुण्डबाट पानी उत्पादन तथा प्रशोधन गर्न सकिने उसको भनाइ छ । सोलुखुम्बुको दुधकुण्ड वरीपरी, चौरीखर्कको क्यासाइ र इङ्खु हिमनदी, छेस्काम गाँउको मेरा हिमनदीबाट पानी उत्पादन गर्न सकिन्छ ।

याे पनि पढ्नुस  नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल्ने

त्यस्तै, मनाङको नार्फुस्थित पाङ्ग्री र ल्याप्चे हिमनदी, नासोङका पोन्कार, केछाक्यू, सती ताल र चाङ्ली हिमनदीबाट पानी उत्पादन गर्न सकिन्छ । सरुवाको छलेपोच नजिकको हिमनदी, नाङटाङ खोला नजिकको हिमनदी, दागपाचे नजिकको लाङटाङ हिमनदी, इजुङफू नजिकको लाङटाङ हिमनदीबाट पनि पानी उत्पादन गर्न सकिनेछ । यस्तै खानेपानीको थोक वितरण गर्न सकिने नौ ठूला नदीमा महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी, पूर्वी राप्ती, कमला, कोशी र कन्काई छन् ।

उत्पादन तथा निर्यातमा सार्वजनिक निजी साझेदारी
मन्त्रालयले पानी प्रशोधन, उत्पादन र बजारीकरण सार्वजनिक निजी साझेदारीमा गर्ने प्रस्ताव राखेको छ । सरकारको प्रस्तावमा खानेपानी व्यवसायी समेत सहमत देखिएका छन् । तर, उनीहरूले नीतिगत जटिलता रहेको भन्दै त्यसलाई फुकाइदिनुपर्ने धारणा राखे । सरकारले भने आवश्यक नीतिगत व्यवस्था गरिने बताएको छ । मन्त्रालयले खानेपानी उत्पादन र निर्यात गर्न उद्योगी व्यवसायीलाई कर छुट, विज्ञहरूको सहजीकरण, नमूना निर्माण, जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) सम्पर्क, बजारीकरण, आदिमा सघाउने वाचा गरेको छ ।

याे पनि पढ्नुस  नेपाली बलरको शानदार प्रदर्शन, नेदरल्याण्ड्सको सातौ विकेट पतन

पानी निर्यात गर्न सकिन्छ भन्नेमा ढुक्क छुः खानेपानीमन्त्री
छलफलपछि मन्त्री मगरले पानी निर्यात गर्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको बताइन् । ‘म आउँदा नै पानी निर्यात गर्न सकिन्छ भन्नेमा थिएँ । तर, यत्तिकै एक बर्ष बित्यो । तपाईंहरूसँगको छलफलपछि यहाँको खानेपानी विदेशमा बेच्न सकिन्छ भन्नेमा ढुक्क भएकी छु,’ उनले भनिन् । उनले पानी निर्यातका लागि कतारी राजदूत सकारात्मक रहेको पनि बताइन् । सचिव दीपेन्द्रनाथ शर्माले भने नेपालको पानी बौद्ध तथा हिन्दु धर्मवालम्वीको बाहुल्यता रहेको देशमा होली वाटरको रूपमा बजारीकरण गर्न सकिने बताएका थिए ।

चर्चा निर्यातको तर वार्षिक २ करोडको आयात
पानी निर्यात गर्न सकिने बहस प्रारम्भ हुँदा नेपालमा वार्षिक झण्डै २ करोड रूपैयाँको पानी आयात भइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७४र७५ मा ३ लाख ८६ हजार लिटर मिनरल वाटर आयात भएको छ । यो १ करोड ८१ लाख रूपैयाँ मूल्य बराबरको हो ।

याे पनि पढ्नुस  खाद्य पहुँचमा वञ्चित गरे १० वर्ष कैद, पाँच लाख जरिवाना

गत वर्ष नेपालले १५ लाख मूल्यमा आठ सय २३ लिटर पानी निर्यात गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा ७३ लाख ७२ हजार रूपैयाँको दुई लाख ७६ हजार लिटर पानी आयात भएको छ ।

कतारी राजदूतको प्रस्तावपछि सरकार सक्रिय
१९ चैतमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले खानेपानीमन्त्री विना मगरलाई भेटे । उनीहरूबीच खानेपानी प्रशोधनरउत्पादन र बजारीकरणका विषयमा छलफल भयो । राजदूत हेलले नेपालको खानेपानी कतार लैजान सकिने बताएका थिए । उनले नेपालको पानी सफा र स्वच्छ भएकाले कतार राम्रो बजार बन्न सक्ने बताएका थिए । ‘हामीलाई तेल र ग्यासको अभाव छैन, तर शुद्ध पिउने पानीको अभाव छ । त्यसैले नेपालको पानी कतार लैजान दुई देशबीच सहमति गर्न आवश्यक छ,’ उनले भनेका थिए । राजदूत हेलसँगको भेटपछि खानेपानी निर्यातका विषयमा मन्त्री मगर उत्साहित भइन् । उनले खानेपानी विभागलाई सम्भावित स्थान पहिचान गर्न निर्देशन दिइन् । यो समाचार नयाँ पत्रिकाबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्