भारतको सीतामढी शहरबाट २८ बालकको उद्धार

काठमाडौं, बैशाख ०७ । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ। चार जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरका विभिन्न बाल आश्रमबाट शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

ती बालकलाई १४ चैतमा भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नई लैजाँदै गर्दा सीतामढी प्रशासनले नियन्त्रणमा लिएको थियो। सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमा भिट्ठामोडबाट नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले जानकारी दिए।

चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको हो। १५ देखि १७ वर्ष उमेरका ती बालकलाई बाल कल्याण समितिले जनकपुर लगेको छ।

चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिश लिएर आएमा अभिभावकलाई जिम्मा लगाइने प्रजिअ ढकालले बताए। नेपाल खबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: