राप्रपाको आकस्मिक बैठक, आइतबारको सत्याग्रह स्थगित

राप्रपा केन्द्रीय कार्य समितिको शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले हिन्दु राष्ट्र पुनः स्थापना लगायतको माग राख्दै गरेको पहिलो चरणको आन्दोलन सफल भएको ठहर गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले पहिलो चरणको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा गरेको छ । राप्रपाले उठाएका मागमा गम्भिर बन्न आग्रह गर्दै दमन र हस्तक्षेपबाट नभइ वार्ताबाट सम्बोधन गर्न सरकारसँग बैठकले माग गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

दोस्रो चरणको संघर्षलाई सशक्त र प्रभावकारी बनाउन बैठकले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई सात दिन भित्र आन्दोलनको कार्ययोजना बनाउन म्याद दिइएको छ । त्यसैगरि बैठकले आइतबारका लागि तोकिएको राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने कार्यक्रम स्थगित गरेको छ ।

श्रेष्ठले स्थगित कार्यक्रम दोस्रो चरणको जनसंघर्षमा समावेश गर्ने जानकारी दिए । बैठकले हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि आव्हान पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्