सगरमाथा क्षेत्रमा संकलित १ हजार किलोग्राम फोहोर काठमाण्डौमा

सोलुखुम्बु, बैशाख ०८ । सगरमाथा क्षेत्रमा संकलन भएको फोहोर काठमाण्डौ लगिएको छ । सरसफाइ अभियान नै सञ्चालन गरी संकलन गरिएको १ हजार किलोग्राम फोहोर शनिबार काठमाण्डौ लगिएको हो । नेपाली सेनाको हेलिकप्टर मार्फत १ हजार किलोग्राम फोहोर काठमाण्डौ र एक हजार किलोग्राम फोहोर ओखलढुंगा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

स्थानीय स्तरमा व्यवस्थापन गर्न सकिने वस्तुलाई नाम्चे क्षेत्रमा नै व्यवस्थापन गरिएको छ । केही कुहिने बस्तुसहितको फोहोरलाई ओखलढुंगा र नकुहिने सिसाको बोत्तलजस्ता प्रशोधन गर्न सकिने बस्तुलाई काठमाण्डौ पठाइएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सगरमाथा क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा फोहोर संकलन गरिएको हो ।

वैशाख १ गतेदेखि सुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदुषण नियन्त्रण समितिको सहभागिता रहेको छ ।

यो टोलीले पाँच दिन लगाएर लुक्ला, टोकटोक, जोरसल्ले, नाम्चे, फोरचे, थामे, स्याङ्बोचे लगायतको क्षेत्रबाट संकलन गरेको फोहोर पठाएको हो । जेठ २२ गतेसम्म जारी रहने यो अभियानमा सगरमाथाको चुचुरोसम्म नै सफाइ गर्ने बताइएको छ । सगरमाथा आधारशिविरसम्म दैनिक ३० जनाको टोलीले सरसफाइ गर्ने, सरमाथाको चुचुरोसम्म ८ जनाले काम गर्ने सगरमाथा प्रदुषण नियन्त्रण समिति ९एसपीसीसीका०का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए।

सगरमाथा क्षेत्रमा फोहोर बढेको प्रति सर्वत्र चिन्ता व्यक्त भैरहेको बेला सगरमाथा दिवसको अवसर पारेर सफाइ अभियान सञ्चालन गरिएको हो । हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकका कारण उत्पन्न फोहोर व्यवस्थापनमा चुनौती भैरहेको बेला यस्ता अभियानले महत्वपूर्ण भुमिका खेल्ने पर्यटन व्यवसायीले विश्वास लिएका छन् ।

संकलन गरी काठमाण्डौ लगिएको फोहोरलाई विश्व वातावरण दिवस ९जुन ५० का दिन काठमाण्डौमा प्रदर्शन गरी ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरिने छ । ४५ दिनसम्म चल्ने सफाइ अभियानमा २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने बताइएको छ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले ३० लाख तथा नेपाल पर्वतारोहण संघले २० लाख र विश्व वन्यजन्तु कोषले २० लाख सहयोग गर्ने जनाएका छन् । उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्