औषधि नपाएको बिमितको गुनासो

तनहुँ, वैशाख ८ । औषधि अभाव भएको भन्दै दमौली अस्पतालले स्वास्थ्य बिमा गरेका नागरिकलाई औषधि दिन छाडेको छ । बिमितहरूले उपचार सेवा पाएपनि निःशुल्क उपलब्ध हुनुपर्ने औषधि भने नपाएका हुन् ।

बिमितहरूले सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराए पनि औषधि भने निजी पसलमा किन्न बाध्य भएका छन् ।

दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनील पौडेलले संघीय सरकारबाट प्राप्त हुनुपर्ने निःशुल्क औषधि समयमै नपाएकाले अभाव भएकोे बताए । ‘राज्यले निःशुल्क दिने भनेको ७० प्रकारका औषधिमध्ये अहिले ३० प्रकारका औषधि मात्रै दमौली अस्पतालमा उपलब्ध छन्,’ उनले भने । १५ शैय्याको दमौली अस्पताल, अस्पताल विकास समितिको खर्चमा हाल ४२ शय्या सञ्चालन भइरहेको छ । ‘बिरामीबाट लिने शुल्कबाटै अस्पताल चलेको छ,’ उनले भने । सुगर, प्रेसरका केही औषधि भएपनि एन्टिरेबिज भ्याक्सिन अस्पतालमा नभएको उनले बताए ।

उपचारका लागि आर्थिक भार कम हुने भएकाले सर्वसाधारण स्वास्थ्य बिमाप्रति आर्कषित भएका थिए । तर, अस्पतालमा औषधि नपाउँदा भने दिक्क लागेको बिमित तिलकुमारी नेपालीले बताइन् । ‘अस्पतालमा चेकजाँच गरें, तर औषधि पाइनँ । निजी क्लिनिकमा किन्न बाध्य भएँ,’ उनले भनिन् । दमौली अस्पताल प्रशासन शाखाका नायब सुब्बा विजय सुवेदीले अस्पतालमा पर्याप्त औषधि नभएकाले बिमितलाई औषधि दिन नसकेको बताए ।

बिमाबाट तीन करोड १२ लाख ३० हजार संकलन

स्वास्थ्य बिमा बोर्ड दमौलीका दर्ता अधिकारी संगम अर्यालले १ असार ०७४ देखि माघ ०७५ मसान्तसम्म ११ हजार सात सय ४८ घरधुरीले स्वास्थ्य बिमा गरेको बताए । तनहुँमा स्वास्थ्य बिमा गर्ने ११ हजार सात सय ४८ घरधुरीका ४९ हजार चार सय ५५ जनाले बिमा गरेका छन् । जिल्लामा स्वास्थ्य बिमा गरेकाहरूबाट तीन करोड १२ लाख ३० हजार ३ सय २५ रुपैयाँ संकलन भएको छ ।

जिल्लाको दमौली अस्पताल, बन्दीपुर, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र सेपाबगैँचा, जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र बेलचौतारा र सुन्दरबजार अस्पताल लमजुङबाट बिमाको औषधि पाउने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: