राजपा बैठकमा पेस भएका तीन प्रस्ताव यी हुन्

काठमाडौं, बैशाख ०९ । एकता महाधिवेशनको प्रक्रिया र मिति तय गर्न बसेको राष्ट्रिय जनता पार्टीको पदाधिकारी बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । पार्टी कार्यालय बबरमहलमा बैठक बसेलगत्तै महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको खबर आएपछि शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको महासचिव केशव झाले जानकारी दिए ।

बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले मौखिक रूपमा तीनवटा प्रस्ताव पेस गरेका छन् । भण्डारीले महाधिवेशनको प्रक्रिया र तिथिमिति निर्धारण, समसामयिक राजनीतिक परिस्थिति र राजपाको भावी कार्यदिशा तथा प्रदेश सरकार र स्थानीय तहको कामको प्रभावकारिताबारे प्रस्ताव पेस गरेका थिए ।

सोमबार दिउँसो एक बजे बस्ने बैठकमा तीनवटै प्रस्ताव लिखित पेस गर्ने कार्यतालिका छ । मंगलबारसम्म बस्ने बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए । राजपामा १३५ जना पदाधिकारी छन् । यो समाचार आजको नयाँ पत्रिकाबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्