ठूला करदाता कार्यालयविरुद्ध एनसेल सर्वोच्चमा

काठमाडौं बैशाख ९ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कर तिर्ने सात दिने म्याद सकिने एक दिनअघि ठूला करदाता कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

एनसेलले कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकर चित्तबुझ्दो नभएको भन्दै सर्वोच्च अदातलमा सोमबार रिट दायर गरेको हो । यही वैशाख ३ गते ठूला करदाता कार्यालयले एनसेलले चुक्ता गर्नुपर्ने लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरेको थियो । तर उक्त रकम चित्त बुझ्दो नरहेको भन्दै एनसेलले सोमबार सर्वोच्च गएको हो।

टेलियासोनेरा कम्पनीले मलेसियाको अजियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र अजियटाले नै तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले गरेको थियो। उक्त फैसलाको पूर्णपाठ आएपछि ठूला करदाताले कर निर्धारण गरी १ हप्ताभित्र उक्त रकम चुक्ता गर्न भनेको थियो।

सर्वोच्चले गरेको उक्त फैसलाअनुसार ठूला करदाता कार्यालयले टेलियासोनेराले अजियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पुँजीगत लाभ भएको थियो । त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण भएको थियो ।

सर्वोच्चले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रूपमा तिरिसकेको एनसलेबाट बाँकी कर असुल गर्नुपर्ने भनेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: