७३ प्रतिशत मतसहित हास्यकलाकार राष्ट्रपतिमा विजयी

एजेन्सी । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३।२ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार पोरोसेन्कोले २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । चुनावमा राष्ट्रपति पोरोसेन्को र हास्यकलाकार भोलोदिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणले देखाएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत नल्याएकाले आइतबार दोस्रो चरणमा राष्ट्रपतिको मतदान भएको थियो ।

पराजित राष्ट्रपति पोरोसेन्कोले आफ्नो हार भएको स्विकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन् । सन् २०१४ देखि सत्तामा रहेका पोरोसेन्कोले ‘अप्रत्यासित’ निर्वाचन परिणामले देशलाई अनिश्चित दिशातर्फ लैजाने दाबी गरे । ‘म पद त्यग्छु, तर राजनीति कहिल्यै त्याग्दिनँ,’ उनले भने । पछिल्लो नतिजाबाट रुस खुसी भएको हुन सक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिए । विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन् । मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको निर्वाचन परिणामले देखाएको जनाएको छ ।

यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पोरोसेन्को विरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए । जेलेन्स्कीले पोरोसेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए, तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् । युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०।२ प्रतिशत र पोरोसेन्कोले १६।७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्वप्रधानमन्त्री युलियाले १३।०८ प्रतिशत मत प्राप्त गरेका थिए ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यसपटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षमा भ्रष्टाचार, अर्थतन्त्रमा मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र संघर्षबाट युक्रेन आक्रान्त छ । युक्रेनको संविधानअनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।

निर्वाचनमा विजयी भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बाचा गरेका छन् । जेलेन्स्कीको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिकालगायत देशले खुसी व्यक्त गर्दै युक्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जेलेन्स्कीले युद्धरत पूर्वी क्षेत्रबाट भारी मत प्राप्त गरेका थिए । उनलाई राष्ट्रपति पोरोसेन्कोको पकड क्षेत्रबाट पनि बढी मत प्राप्त भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: