Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्यार्थीले जलाए क्याम्पसप्रमुखको कुर्सी

कन्चनपुर, वैशाख १० । कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसका प्रमुख खेमलाल घिमिरेको कुर्सी जलाइएको छ ।

क्याम्पसका विद्यार्थीले नै तोडफोड गरेर कुर्सी जलाएका हुन् । कांग्रेस निकट नेविसंघ, तत्कालीन माओवादी केन्द्र नकट अखिल क्रान्तिकारी र तत्कालीन एमालेनिकट अनेरास्ववियुले सोमबार बिहान क्याम्पसप्रमुख घिमिरेको कुर्सी जलाएका हुन् । नियमित पठनपठानको माग अघि सार्दै तीन विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थी आन्दोलित भएका छन् ।

एक सातादेखि विभिन्न विषयका प्राध्यापक क्याम्पसमा उपस्थित नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै क्याम्पस प्रशासनलाई जानकारी गराउँदासमेत सुनुवाइ नभएको भन्दै तीन विद्यार्थी संगठनले प्रमुखको कुर्सी जलाएको बताएका छन् । अखिल क्रान्तिकारी जनज्योति क्याम्पस इकाइका अध्यक्ष दलबहादुर धामीले पटकपटक क्याम्पस प्रमुखलाई नियमित पठनपाठनको माग राख्दासमेत बेवास्ता गरेका कारण कुर्सी जलाउन बाध्य भएको बताए । ‘क्याम्पस प्रमुख घिमिरेको कार्यशैलीप्रति हामीले उनी प्रमुख नहुँदै आन्दोलन गरेका थियौँ,’ उनले भने, ‘अहिले आएर उनी क्याम्पसप्रमुख हुँदा सबै विद्यार्थी संगठन उनीविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।’

अनेरास्ववियुका इकाइ अध्यक्ष सरोज भण्डारीले क्याम्पस प्रमुखको गैरजिम्मेवारीपनका कारण बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । नेविसंघ इकाइ सभापति सरोज रोकायाले विद्यार्थी संगठनले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

विद्यार्थीको आन्दोलनका कारण क्याम्पसको पठनपाठ ठप्प भएको छ । मागका विषयमा बैठक राखेर समाधान गरिने क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुख खेमलाल घिमिरेले क्याम्पस सुधारका लागि आफूले प्रयत्न गर्दा क्याम्पसका केही शिक्षक प्राध्यापकको चलखेलका कारण तोडफोड आगजनी भएको बताए । नयाँपत्रिकादैनिकाबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: