फोर्डका सीईओभन्दा ४० लाख डलर बढी तलब बुझ्छिन् जीएम कम्पनीकी म्यारी

अमेरिका बैशाख १० । सवारीसाधन निर्माता कम्पनी जनरल मोटर्स ९जीएम०की प्रमुख कार्यकारी अधिकृत म्यारी बाराले गत वर्ष २१.८७ मिलियन डलर अर्थात् नेपाली करिब २ अर्ब ४३ करोड तलब बुझेकी छिन् ।

सन् २०१७ को तुलनामा म्यारीले लिएको तलब सन् २०१८ मा झण्डै ९० हजार डलर घटी हो । सन् २०१७ मा उनले २१.९६ मिलियन अमेरिकी डलर तलब बुझेकी थिइन् । कम्पनीले अघिल्लो हप्ता सार्वजनिक गरेको तलबसूचीमा यस्तो तथ्य खुलेको हो। उनको यो तलब जीएमको औसत मध्य तलब ७७ हजार ८ सय ४९ डलरको तुलनामा २ सय ८१ गुणा धेरै रहेको अमेरिकी मिडियाले जनाएका छन् ।

म्यारी कम्पनीमा सन् २०१४ मा पहिलो महिला प्रमुखको रुपमा प्रवेश गरेकी थिइन् । उनी अहिले पनि अमेरिकामा २० उच्च तलब लिने सीईओहरुमध्ये रहेकी छिन् । म्यारी एबभाई सीईओ रिचार्ड गोन्जालेजभन्दा पछि रहेकी छिन् । गोन्जालेजको तलब सन् २०१८ मा २२.६ मिलियन अमेरिकी डलर रहेको छ ।

फोर्डका सीईओको भन्दा ४० लाख डलर बढी

म्यारीले लिएको तलब जीएमकै प्रतिस्पर्धी कम्पनी फोर्डका सीईओ जिम ह्याकेटको भन्दा ४० लाख डलर बढी हो । ह्याकेटले सोही वर्ष १७.८ मिलियन डलर तलब बुझेका थिए।

फोर्डका सीईओ जिम ह्याकेट

म्यारीको कुल तलबमा २।१ मिलियन डलरको आधार तलब, ११।१ मिलियन डलरको स्टक अवार्डलगायतका रकम समावेश रहेको बताइएको छ। म्यारी अहिले ५८ वर्ष पुगेकी छिन्। उनी अमेरिकाको मिसिगन राज्यमा सन् १९६१ मा जन्मिएकी थिइन्। सन् २०१३ डिसेम्बरमा कम्पनीका सीईओ डान अकरसनपछि रिक्त कम्पनी प्रमुखका रुपमा २०१४ को जनवरीमा जीएम बनेकी थिइन् उनी ।

यसरी जोडिएकी थिइन् कम्पनीसँग

म्यारी जीएममा १८ वर्षको उमेरदेखि नै जोडिएकी थिइन्। को–ओप विद्यार्थीका रुपमा सन् १९८० मा कम्पनीसँग जोडिएकी उनी त्यसपछि विभिन्न इन्जिनियरिङ तथा व्यवस्थापकीय पदमा रहेर काम गरेकी थिइन् । त्यसबाहेक उनले डेट्रोइट–हाम्ट्राम्क असेम्बली प्लान्टको व्यवस्थापन सम्हालेको अनुभव पनि उनीसँग रहेको छ । सन् २००८ फेब्रुअरीमा उनी ग्लोबल म्यानुफ्याक्चरिङ इन्जिनियरिङको उपप्रमुख बनेकी थिइन् ।

त्यसको १ वर्षपछि नै उनी ग्लोबल ह्युमन रिसोर्सको उपप्रमुखमा समेत चयन भएकी थिइन् । यो पदमा उनी सन् २०११ सम्म कायम रहेकी थिइन् । त्यतिबेलै उनी ग्लोबल प्रडक्ट डेभलपमेन्टको उप–कार्यकारी प्रमुख समेत बनेकी थिइन् । उनले जीएममा अटोमोबाइल प्लेटफर्मको संख्या घटाउन पनि भूमिका निर्वाह गरेकी थिइन् । सन् २०१३ अगस्टपछि उनको उपप्रमुखको भूमिका विस्तार भएर ग्लोबल पर्चेसिङ एण्ड सप्लाई चेनसम्म पुग्यो ।

सन् २०१४ जनवरीमा कम्पनी प्रमुख बन्न सफल भएसँगै म्यारी सवारीसाधन निर्माता कम्पनी हाँक्ने पहिलो महिला प्रमुखका रुपमा चिनिएकी थिइन्। सीईओ भएको पहिलो वर्ष नै जीएमले ८४ वटा सेफ्टी रिकल्स अर्थात् ३ करोड कार फिर्ता लिने घोषणा गर्यो । यसले म्यारीलाई अमेरिकी माथिल्लो संसद सिनेटले कारफिर्तीबारे स्पष्टीकरण नै लिएको थियो । त्यसले उनी र कम्पनी दुवैको छवि केही हदसम्म धमिल्यायो ।

जीएमको विद्युतीय भ्यान

चालकरहित कारको सपना

प्रमुख भएको सुरुवाती समय चुनौतीपूर्ण भए पनि म्यारीले कम्पनीलाई टेक स्पेसतर्फ डोर्याएकी छिन्। उनको नेतृत्वमा जीएमले स्वचालित चालकरहित कार निर्माणको लक्ष्य राखेको छ। यसका लागि कम्पनीले चालकरहित प्रविधि कम्पनीहरुलाई प्राप्ति गरेर अघि बढेको छ । सन् २०१७ मा उनकै नेतृत्वमा जीएमले चेभी बोल्ट इलेक्ट्रिक भ्यान विकासलाई जोड दियो। जसले विद्युतीय सवारीसाधनको आक्रामक उत्पादनकर्ता टेस्लालाई पनि पछाडि पारिदियो ।

सोही वर्ष म्यारीले उच्च तलब लिएकी थिइन्।

एजेन्सीहरुको सहयोगमा।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: