बैतडीमा यू–१९ क्रिकेट हुने

बैतडी, वैशाख १० । बैतडीको दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट उन्नाइस वर्षमुनिको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा हुन लागेको प्रतियोगिता जेठ १५ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, ट्रफी र प्रमाणपत्र,द्वितीय पुरस्कार ३० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका कोषाध्यक्ष सुदिप चन्दले जानकारी दिए । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र र प्रत्येक खेलका म्यान अफ द म्याचलाई ट्रफी र प्रमाणपत्र दिइने भएको छ ।

निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाभित्रका ११ वटै वडाका टोलीको सहभागीता रहने भएको छ ।

उन्नाईस बर्षमुनीको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै क्रिकेटको विकासमा टेवा पुग्ने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।

यसअघि गत वर्ष पनि दशरथचन्द नगरपालिकाले मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । यसका साथै नगरपालिकाले प्रशिक्षक नियुक्त गरी वडास्तरमै पनि सोह्र र उन्नाइस वर्षमुनीका क्रिकेट खेलाडीलाई प्रशिक्षण दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: