चलचित्र ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ गीतले ऐतिहासिक रेकर्ड राख्न सफल

काठमाडौं, वैशाख ११ । नेपालको जनसंख्‍या करिब ३ करोड नजिक छ । यसमध्ये एकदेखि डेढ करोड जनसंख्यामात्र इन्टरनेटको पहुँचमा छ ।

तर, गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘कुटुमा कुटु’ गीतले नेपालको जनसंख्याभन्दा तीन गुणा बढी भ्यूज इन्टरनेटमा बटुल्न सफल भएको छ । अर्थात् गीतलाई युट्युब रिलिजको एकवर्षमा १० करोडभन्दा बढी पटक हेरिएको छ ।

आजसम्म कुनै नेपाली गीतलाई युट्युबमा १० करोड पटक हेरिएको रेकर्ड छैन । ‘कुटुमा कुटु’ ले एेतिहासिक रेकर्ड बनाएको छ । यस गीतले पाएको सर्वाधिक भ्यूजलाई संगीतकर्मीले एतिहासिक क्षण बताएका छन् । यो रेकर्ड तोड्न नेपाली गीतलाई निकै समय लाग्ने देखिन्छ । ‘कुटुमा कुटु’ १० करोड पटक हेरिने पहिलो गीत बनेकोमा गायक तथा संगीतकार राजनराजले दर्शकलाई धन्यवाद दिएका छन्।

यो गीत नेपाली चलचित्र ‘दुई रुपैयाँ’मा समावेश छ । गीतले झैँ चलचित्रले बक्सअफिसमा रेकर्ड नबनाएपनि पैसा भने राम्रै छापेको थियो । यो गीतका कारण पनि फिल्मको इनिसियल बक्सअफिस बलियो देखिएको थियो । ‘कुटुमा कुटु’ गीतमा राजनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । प्रायः राजनराजले तयार गरेका फिल्मका गीतले युट्युबमा करोड भ्यूज बटुलेका छन् ।

१० करोड भ्यूज बटुलेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै अभिनेता द्वय निश्चिल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले ठुम्का लगाएका छन् । यो गीतमा ठुम्का लगाएर लाइमलाइटमा आएकी स्वस्तिमा अहिले नेपाली फिल्मकी डिमाण्डेड अभिनेत्रीमा पर्छिन् । यो गीतकै कारण उनको धरमराएको फिल्म करिअरले गति लिएको थियो । यस गीतका गीतकार राजनराज स्वयं हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: