प्रचण्ड भन्छन्, ‘नेकपा जडसूत्र र अवसरवादी होइन भनेर स्थापित गर्नुपर्ने छ’

काठमाडौं, वैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी होइन भनेर स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधबार ललितपुरको श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ । अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ ।’

अध्यक्ष प्रचण्डले सरकार र पार्टी विकास निर्माणका कामलाई अगाडि बढाउने अभियानमा लाग्ने बताए । उनले पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने बताए । ‘आउने ४ वर्षमा हामीले नेपाली जनताका अगाडि जे संकल्प र प्रतिबद्धता गरेका छौँ र जनताले जुन भरोसा गरेर मत दिएका छन्, त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ ।’

एकअर्को प्रसंगमा अध्यक्ष प्रचण्डले जीवन उपयोगी शिक्षामा विशेष जोड दिनुपर्ने बताए । उनले भने, ‘व्यवहारिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई बढाउँदै र सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै लैजाने नीति हामीले लिएका छौं । शिक्षामा आमुल सुधार गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक प्रस्तुतसमेत भएको छ ।’

कमेन्ट गर्नुहोस्