एसीसी यू–१६ क्रिकेटः दोस्रो खेलमा पनि नेपालको शानदार जित

काठमाडौं, वैशाख ११ । थाईल्यान्डमा भइरहेको एसीसी यू १६ इस्टन रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । बुधबार मलेसियालाई ३९ रनले पराजित गर्दै नेपाल दोस्रो खेलमा पनि विजयी भएको हो । आजको जीतसँगै नेपालको सेमिफाईनल यात्रा बलियो भएको छ । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३.२ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १०२ रन मात्र बनाउन सक्यो ।

उसका लागि शर्वेन शुरेन्द्रनले नटआउट ४६ रन बनाउन बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । नेपालका लागि रमेश कुर्मी, तिलक राज भण्डारी, प्रसान्त महतले दुई-दुई, निखिल कुमार सिंह र प्रसान्त सिंहले एक-एक विकेट लिए ।  त्यस अघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।

नेपालका लागि आईश भट्टराईले ३४, दिपक बोहोरा, अर्जुन कुमालले समान १६, कप्तान विशाल बिक्रम केसीले २८, रोहन दुधराज बिकले ८, प्रसान्त सिंहले ६, सुवास ऐरले ११, निखिल कुमार सिंहले १२ र तिलक राज भण्डारीले २ रन बनाए ।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लोकमान नुर र सचिनुले समान २ लिए । त्यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट हात पारे । यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल भोलि (बिहीबार) आयोजक थाईल्यान्डसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: