सन्दीप भन्छन्, ‘विश्वकपमा १६ टिमले खेल्न पाउनुपर्थ्यो’

काठमाडौं, वैशाख ११ । नेपाली क्रिकेटर सन्दिप लामिछानेले एक वर्षयता विश्वका अधिकांश ठूला टी–२० लिग खेलिसकेका छन् । उनी लण्ड्समा भएको खेलमा विश्व ११ को समेत हिस्सा थिए तर, आगामी महिना ईंग्ल्यान्डमा हुने क्रिकेटको कुम्भमेलामा नेपाली किशोरको स्पिन जादु हेर्न पाइने छैन ।

सन्दीप स्वयम् पनि विश्वकप खेल्न नपाउँदा निराश छन् । क्रिकेट अष्ट्रेलियाले हालै उनको एक अन्तर्वार्ता प्रकाशित गरेको छ, जसमा सन्दिपले १० वटा मात्रै देशले विश्वकप खेल्न पाउँदा उदियमान क्रिकेट राष्ट्रहरुलाई चोट पुगेको बताएका छन् । साथै उनले विश्वकपमा १४ देखि १६ टिम सहभागी गराइनुपर्ने धारणा पनि राखे ।

अहिले भारतमा आईपीएल खेलिरहेका सन्दिपले भने, ‘दुःखपूर्वक भन्नुपर्दा १० टिमको विश्वकपले मजस्ता धेरै खेलाडीहरुलाई मर्का परेको छ, जो यसको हिस्सा हुन सक्दैनन् । मलाई लाग्छ विश्वकपमा १४ देखि १६ राष्ट्रहरुको प्रतिनिधित्व हुनुपर्छ ।’

चार वर्षमा एकपटक आउने विश्वकप खेल्नु हरेक क्रिकेटरको सबैभन्दा ठूलो सपना हुने र आफ्नो पनि भएको सन्दिपले बताए ।

उनी भन्छन्, ‘२०२३ को विश्वकपमा पनि १० वटा टिम मात्रै हुनेछन्, जसले गर्दा हामीले विश्वकप खेल्नेबारे सोच्न मात्रै पनि केही समय पर्खिनुपर्ने छ ।’

सन् २००७ को विश्वकपमा १६ टिम खेलाइएको थियो । २०११ र २०१५ मा त्यसलाई घटाएर १४ टिममा झारियो । यस्तै सन् २०१९ र २०२३ मा भने १० टिमले मात्रै विश्वकप खेल्नेछन् । ८ टिम वान डे वरियतामा अगाडि रहेकामध्येबाट र २ टिमको छनोट क्वालिफायरबाट गरिन्छ । एकतर्फी म्याचलाई टार्नका लागि बलिया टिमलाई मात्रै खेलाउने नीति लिइएको आईसीसीको तर्क रहेको छ ।

सन्दिपले विश्वकप आफूले टिभीमा हेर्ने र साना राष्ट्रको समर्थन गर्ने बताए । उनले भने, ‘बलिया राष्ट्रहरुविरुद्ध कम आँकिएका राष्ट्रहरुले सशक्त प्रदर्शन गरेको हेर्न आतुर छु,’ उनले भने, ‘यदि त्यसो भयो भने हाम्रो जस्तो उदियमान क्रिकेट राष्ट्रलाई पनि ठूलो उत्प्रेरणा हुनेछ ।’

त्यसो त लामिछाने नेपालबाट टेस्ट क्रिकेट खेल्न चाहन्छन् । अफगानिस्तान र आयरल्यान्डलाई पछ्याउँदै नेपालले केही समयमा टेस्ट स्टाटस हासिल गर्नेमा उनी विश्वस्त छन् ।

सन्दीपले भने, ‘हामी दुई वर्ष अगाडिसम्म केही पनि थिएनौं । अहिले वान डे स्टाटस हामीसँग छ । भविष्यमा टेस्टको स्टाटस पनि प्राप्त हुनेमा ढुक्क छु । यदि १० वर्षपछि मैले नेपालको टेस्ट टिमबाट खेल्ने मौका पाएँ भने पनि त्यो मेरो लागि गौरवको क्षण हुनेछ ।’ अनलाइन खबरबाट साभार

कमेन्ट गर्नुहोस्