आन्दोलनकारीलाई वार्तामा आउन सुडानी सैनिक सरकारको आह्वान

खर्तुम, बैशाख १२ । सुडानको शासन सत्ता लिएको सैनिक परिषद्ले आन्दोलनकारीहरुलाई वार्तामा आउन बुधबार आह्वान गरेको छ। नागरिक सरकारको माग गर्दै आन्दोलनकारीहरुले लगातार आन्दोलन गर्ने घोषणा गरेपछि सैनिक परिषद्ले वार्ताका लागि आह्वान गरेको हो।

आन्दोलनरत स्वतन्त्रता र परिवर्तनका लागि गठबन्धनका नेताहरुलाई वार्ताका लागि राष्ट्रपति निवासमा सैनिक परिषद्ले आमन्त्रण गर्दछु, परिषद्का तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ। विपक्षी तथा आन्दोलनकारीका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सिधै सैनिक परिषद्का प्रमुख अब्देल फत्ताह अल बुर्हानसँग वार्ता गर्ने तयारी गरेको जानकारी दिएका छन्।

विपक्षी नेता ओमर एल डिगेरले भने, हामी सिधै सैन्य परिषद्का प्रमुखसँग वार्ता गर्ने तयारी गरेका छौँ, आशा छ, वार्ताबाट निकास निस्कने छ। यही अप्रिल ११ मा तत्कालीन राष्ट्रपतिलाई अपदस्त गरी सैनिक नेतृत्वले सत्ता हातमा लिएपछि सुडानमा आन्दोलन थप चर्किंदै गएको छ। उनीहरुले अहिलेको सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने माग गर्दै आएका छन्। उनीहरुको आन्दोलनप्रति देशी–विदेशी विभिन्न क्षेत्रबाट सहयोग र समर्थन बढ्दै गएपछि सैनिक शासकहरुले वार्ताका लागि तत्परता देखाएका हुन्। रासस

Sudan
AFP_1FV5R0

कमेन्ट गर्नुहोस्

%d bloggers like this: