२८ सय मेगावाटका अनुमतिपत्र खारेज

काठमाडौं, वैशाख १२ । विद्युत विकास विभागले काम नगरी अनुमतिपत्र ओगटेर बस्ने २ हजार ८ सय मेगावाट भन्दा बढी क्षमताका आयोजनाको अनुमतिपत्र खारेज गरेको छ ।

पछिल्लो समय अनुमतिपत्र लिने तर लक्षित प्रगति नगर्नेको खारेज गरिएको हो । विभागका अनुसार अहिलेसम्म २ हजार ८ सय ३ मेगावाटका १ सय ६ आयोजनाको अध्ययन अनुमतिपत्र खारेज गरिएको छ । यी मध्ये २ हजार ७ सय ८८ मेगावाटका १ सय ४ आयोजना जलविद्युतका र १४।५ मेगावाटका दुई आयोजना सोलारका छन् ।

२०७५ पुस १६ देखियता ३ आयोजनाको अनुमति खारेज गरिएको छ । यीमध्ये एउटा जलविद्युत र दुईवटा सोलार आयोजना छन् । अब काम नगरी बस्नेको अनुमति धमाधम खारेज गर्दै जाने विभागका महानिर्देशक मधुप्रसाद भेटुवालले बताए । ‘काम गर्ने प्रवर्द्धकलाई सकेसम्म सहयोग र सहजीकरण गर्दै जाने हो । सरकारी तहमा देखिएका समस्या पनि समाधान गरिनेछ,’ उनले भने, ‘काम नगर्नेलाई अब छुट दिइरहन सकिँदैन । खारेज गर्दै जानेछौं ।’

खारेज गरिएका आयोजना सरकारी बास्केटमा रहने र यहाँबाट आयोजना लिन चाहनेले तोकिएको शुल्क र अध्ययन गर्दाको लागत तिर्नुपर्ने हुन्छ । विभागले अहिलेसम्म १८ हजार १ सय ९३ मेगावाटकाच ३ सय ३७ आयोजनाको अध्ययन अनुमतिपत्र बाँडेको छ ।

यसमध्ये ४ सय ६१ मेगावाटका ५१ आयोजना सोलारका छन् । यस्तै, गत पुस १६ गतेपछि मात्र जलविद्युततर्फ ७ सय १५ मेगावाटका ८ आयोजनाको अनुमतिपत्र दिइएको छ भने २२।४ मेगावाटका ४ आयोजना सोलारसँग सम्बन्धित छन् ।

विभागले अहिलेसम्म ७ हजार ७ सय ४२ मेगावाटका १ सय ७६ जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । यस अवधिमा ६ मेगावाटका दुई सोलार आयोजनालाई पनि उत्पादन अनुमतिपत्र दिइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: