नेपालमै पहिलोपटक अपांगमैत्री उडानको तयारी गर्दै बुद्ध

काठमाडौं, वैशाख १२ । नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अपांग तथा बिरामी यात्रुलाई लक्षित गर्दै नयाँ प्रविधिको र्याम्प (अपांगमैत्री भर्‍याङ) र ह्विलचियर ल्याउने तयारी गरेको छ ।

आन्तरिक–अन्तर्राष्ट्रिय उडानमा अपांग तथा बिरामी व्यक्तिका आफन्तको गुनासो सम्बोधन गर्दै नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याउन लागेको हो । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा नै उक्त प्रविधि जडान हुने बुद्धले जनाएको छ । अपांगमैत्री र्याम्प र ह्विलचियरबाट आरामदायक र सुरक्षिक उडानको आनन्द यात्रुले लिने बुद्धले अपेक्षा गरेको छ।

बुद्ध एयरका अनुसार अपांगमैत्री ह्विलचियर जहाजको ग्याप सिटमा सजिलै राख्न मिल्ने खालको रहेको छ । बुद्धका बजार निर्देशक रुपेश जोशीका अनुसार उक्त प्रविधि नेपाल ल्याउनका लागि विभिन्न कम्पनीसँग कुरा भइरहेको छ। अबको तीन महिनाभित्र उक्त प्रविधिको प्रयोग गर्ने तयारी भएको उनले बताए ।

बुद्धका ग्राउन्ड स्टाफलाई केही समय सहजीकरण गरेपछि सो सेवा सुरु हुने छ । अपांगमैत्री ह्विलचियर तथा र्याम्प ल्याउन लाखौँ खर्च लाग्ने अनुमान बुद्धको छ।

सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ । हाल बुद्ध एयरसँग ७ वटा ७२ सीटे एटिआर ७२–५००, तीनवटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्ट लगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका छन्।
अन्तर्राष्ट्रियतर्फ भारतका ३ सहरमा बुद्धले उडानको तयारी गरेको छ । गतवर्षको जुनबाट अन्तर्राष्ट्रिय उडानमा भारतको बनारसमा नियमति उडान गर्दै आएको बुद्धले एक वर्षको बीचमा दुई स्थानमा उडानको तयारी थालेको हो।

जेठ १६ गतेबाट भारतको कोलकाता तथा भारतकै गुवाहटीमा आगामी साउन १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ।

त्यस्तै आन्तरिक उडानमा भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दे आएका छन्। बुद्धले माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएका छन् । नयाँ खरिद गरिएको ७२ सिटे एटीआर विमान गरी बुद्ध सँग ६ सय ६६ सिट क्षमता रहेको छ ।  नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: