बँदेल मार्नका लागि थापिएको करेन्टको पासोमा परी एक युवकको मृत्यु

भैरहवा, वैशाख १२ । रुपन्देहीमा एकजना व्यक्ति बँदेल मार्नका लागि थापिएको करेन्टको पासोमा परी मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–११, भुपु सैनिक टोलका ४५ वर्षीय मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो । तिलोत्तमा–११, सैनिक टोलको ३ नम्बर चोकको रोहिणी खोलाको पश्चिमी किनारामा बँदेललाई थापेको करेन्टको पासोमा परि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वैशाख १ गतेदेखि हराएका गोतामे घर नफर्किएपछि गोतामेका आफन्तले वैशाख ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरलाई जानकारी सहित निवेदन दिएका थिए । गोतामेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतको टोलीले खोज्ने क्रममा १० गते देवदह नगरपालिका–९ बाघ कुमार जंगलमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार मृतक गोतामे क्षेत्री देवदह नगरपालिका–९ मा आयोजित नाचगान कार्यक्रम हेरेर बिहान ३ बजेतिर घर फर्कने क्रममा करेन्ट लागेर मत्यु भएको हो । बँदेल मार्न थापिएको करेन्टको पासोमा बँदेल पनि परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा सम्लग्न ५ जनालाई प्रक्राउ गरी ज्यानसम्बन्धी मुद्धा दर्ता गरेको छ। पक्राउ पर्नेमा तिलोत्तमा–११ का २६ वर्षीय ‘नवीन’ भनिने उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, ३५ वर्षीय ‘सूर्य’ भनिने चन्द्रबहादुर थापा, ४० वर्षीय ‘परविन’ भनिने अमर पुन र २८ वर्षीय ुधर्मबहादुरु भनिने कृष्ण राना रहेका छन् । उनीहरुमध्ये नरबहादुरले पंखा र धारा बनाउने काम गर्दथे भने अन्यले घर बनाउने मिस्त्री काम गर्दथे ।

घटनामा सम्लग्न ५ जनाको समूहले पासोमा परेको बँदेल काटेर खाएर गोतामेको लास घटनास्थलभन्दा ५ सय मिटर खोला पारीको जंगलमा लगेर दिनभर कुरेको र राति ९ बजेतिर खाल्डो खनेर पुरेर फर्किएको अनुन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

५ जनाको समूहले गोतामेलाई २ गते राति नै पुरेपनि प्रहरीको खोज तलासबाट १० गतेमात्र भेट्टाइएको थियो । प्रहरीलाई खोजतलासका लागि ७ गते मात्र जानकारी पाएको थियो । नेपाललाइभबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: