आइपीएलः शतकबाट ३ रनले चुके कार्तिक, राजस्थानले पायो १७६ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्स विरुद्धको खेलमा कोलकाता नाइट राइडर्सले १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

होम ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनायो ।

उसका लागि कप्तान दिनेश कार्तिक बाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन । कार्तिकले राजस्थानविरुद्ध नट आउट ५० बलमा ९७ रन प्रहार गरे । त्यसक्रममा उनले ९ छक्का र ७ चौका लगाए ।

यस्तै, नितीश राणाले २१, शुभमन गिल, आन्द्रे रसेलले १४–१४, सुनिल नारायणले ११, कार्लोस ब्रैथवेटले ५ रन बनाउँदा क्रिस लिन शून्य रनमा आउट भए । बलिङमा राजस्थानका बरुन अरुणले २, ओशन थोमस, श्रेयस गोपाल र जयदेव उनदकटले एक–एक विकेट लिए ।

कोलकाता अंक तालिकामा १० म्याचमा ६ खेलमा हार र ४ खेलमा जीत निकाल्दै छैठौं स्थानमा रहँदा राजस्थान भने तालिकाको पुछारमा छ ।

उसले १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ ।  दुबै टोलीलाई प्ले अफको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । अन्यथा दुबै टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्ने छ । कोलकाताको नेतृत्व दिनेश कार्तिक गरिरहेका छन् । यता, राजस्थानमा स्टीभ स्मिथ कप्तान छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: