उपत्यकामा चल्ने अधिकांश सवारीमा प्रदुषण फेल

काठमाण्डौ, बैशाख १३ । उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदुषण फेल रहेको देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदुषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदुषण फेल देखिएको हो ।

महाशाखाले गएको चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवारी साधनको प्रदुषण अनुगमन तथा जाँचमा ६७० सवारी साधनमा प्रदुषण फेल देखिएको हो ।महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदुषण फेल देखिएको बताए । ‘ट्राफिक प्रहरीलाई पर्याप्त रुपमा प्रदुषण जाँच गर्ने मेसिन नहुँदा धेरै सवारी साधनको प्रदुषण जाँच गर्न सकिएको छैन’, उनले भने ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियान–२०७५ अन्तर्गत करिडोर खोल्ने, जेब्राक्रसिङ निर्माण, आकाशे पुल निर्माण, प्रदुषण जाँचलगायतका काम गर्दै आएको छ । ट्राफिक प्रहरीले अहिले सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरेर सडकमा सवारी प्रदुषण जाँच गर्दै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । काठमाण्डौ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: