गेटाफेसँग रियाल मड्रिड बराबरीमा रोकियो

काठमाडौ, बैशाख १३ । स्पेनिश ला लिगा फुटबलमा पूर्व च्याम्पियन रियाल मड्रिडको खराव यात्रा जारी छ । बिहीबार राति भएको खेलमा रियाल मड्रिड गेटाफेसंग गोलरहित बराबरीमा रोकियो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियालले थुप्रै त्यस्ता गोल गर्ने अवसरलाई त्यत्तिकै खेर फाल्यो । रियालका खेलाडीहरुको आक्रमणलाई गेटाफेका गोलकिपर केलर नाभास र डिफेन्स लाइनले पार लाग्न दिएन ।

ग्यारेथ बेल, टिनएजर खेलाडी ब्राहिम डियाज लगायतका खेलाडीहरु फ्लप सावित भए । प्रशिक्षक जिनेदिन जिदानले लाइनअपमा गरेको परीक्षण पनि फ्लप भयो । बेलले आधा दर्जन गोल गर्ने अवसरलाई गोलमा बदल्न सकेनन् । त्यस्तै करिम बेन्जेमाले दुई वटा गोलका अवसर खेर फाले । जिदान फेरि प्रशिक्षकका रुपमा फर्केपछि रियालले ७ मध्ये ३ खेलमा अंक गुमाएको छ ।

यो बराबरीसंगै रियाल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा यथावत छ । बराबरीले गेटाफे ५५ अंकसहित चौथो स्थानमा पुगेको छ । ३४ खेलबाट ८० अंकको बार्सिलोना उपाधिका लागि एक जितमात्र पछाडि छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ७१ अंक छ । सेभिया ५५ अंकसहित पाँचौं स्थानमा हुँदा भ्यालेन्सिया ५२ अंकबाट छैटौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: