लोडसेडिङ घट्दा सेवाग्राहीलाई राहत

सिमकोट, वैशाख १३ । हिल्दुम जलविद्युत केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा लोडसेडिङ समय डेढ घण्टामा झरेको छ ।

पावर हाउसमा पानी आपूर्ति गर्ने पेनिस्टिक पाईप नचुहिनु र पानीको श्रोत बढेपछि लोडसेडिङ तालिका ह्वात्तै घटेको हो । दुई हप्ता अगाडिसम्म ९ घण्टाभन्दा बढी लोडसेडिङ खेप्नुपरेको भए पनि अहिले आएर डेढ घण्टामा झरेको सिमकोट पाँचका लोकेन्द्र रावतले बताए । पहिले खाना पकाउनेदेखि अन्य विद्युतबाट गर्ने कामका लागि पालो कुर्नुपर्ने अवस्थाको अहिले आएर अन्त्य भएको उनले बताए ।

दिनमा ८–९ घण्टा लोडसेडिङ हुँदा चौपट भएको व्यवसाय अहिले आएर केही सुधार भएको नन्द मोबाईल मर्मत सेन्टरका प्रोपाईटर नन्द सिंहले बताए । लोडसेडिङ तालिका नभएको कारण कतिखेर बत्ती जाने हो निश्चित नभएको अवस्थामा अहिले भने बिहान र बेलुका एकघण्टा बत्ती जाने भएको कारण व्यापारलाई सहज भएको उनले बताए ।

सिमकोटमा एक दर्जनभन्दा बढी विद्युतबाट कारोवार गर्ने व्यवसायहरु रहेका छन् । दिउँसो भरि लोडसेडिङ हुन थालेपनि कार्यालयको काममा कुनै समस्या खडा नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । पहिले नागरिकता लोडसेडिङ् हुँदा दुई दिनसम्म नागरिकता सेवाग्राहीलाई दिन नसकिएको भएपनि अहिले त्यो अवस्था नरहेको उनले बताए । यसले गर्दा केन्द्रबाट तान्नु पर्ने सबै परिपत्र, सुचनाका लागि पनि सहज भएको उनले बताए । लोडसेडिङ् समय एक घण्टामा झरेपछि अर्को काम गर्न जिल्ला अस्पतालमा सहज भएको छ । विद्युत नियमित हुँदा अस्पतालमा बिरामीको उपचारमा सहज भएको अस्पतालका डाक्टर टसी लामाले बताए ।

हिउँदमा हिमपात बाक्लो पर्दा अहिले विद्युत उत्पादन गर्ने हुमाने खोलामा पानीको श्रोत आवश्यकता भन्दा बढी भएकोले एउटा मेशिनले पूर्ण क्षमताको विद्युत उत्पादन गर्ने भएको कारण लोडसेडिङ् समय घटाउनु परेको हिल्दुम विद्युत वितरण केन्द्रका प्रशासन प्रमुख यमप्रकाश खड्काले बताए ।

हाल पावर हाउसमा रहेको मेशीनले दुई सय पचास किलोवाट विद्युत उत्पादन गर्ने गरेकोले लोडसेडिङ् समय घटाउन संभव भएको उनले बताए । यद्यपि अर्को मेशिन भने संचालनमा आउन सकेको छैन । पेनिष्टिक पाईप यसपाली नफुटेकोले पनि सहज भएको उनले बताए । पानीको श्रोतकै अभावले लोडसेडिङ गर्नुपरेको बताउँदै अब आगामी असोजसम्म पानीको श्रोतको कमी नहुने र लोडसेडिङ् नबढ्ने उनले बताए । हाल हिल्दुम वितरण केन्द्रबाट सिमकोट गाउँपालिकाका आठ वटै वडा र खार्पुनाथ गाउँपालिकाका वडा नम्बर ३, ४ र पाँचका गरी एक हजार छ सय ग्राहकलाई विद्युत वितरण गर्दै आएको छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: