कहाँ कहाँ पर्ला पानी ? वर्षा भने सामान्य नै हुने सम्भावना

काठमाडौं, बैशाख १३ । शुक्रबार काठमाडौं उपत्यकासहित देशभर जसो मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रमा पानी पर्ने प्रक्षेपण महाशाखाले गरेको छ। अहिले काठमाडौं उपत्यकाको आकाश कालोमैलो भएको छ । त्रिभुवन विमानस्थल, बालाजु लगायतका क्षेत्रमा अहिले पानी परिरहेको महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिम पहाडका केही स्थानमा पनि आज वर्षाको सम्भावना छ। तर, त्यस्तो ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको उनले बताइन् ।

‘सामान्य वर्षा हुने देखिएको छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘एक–दुई घन्टापछि मौसम खुल्ने सम्भावना छ तर फेरि बदली हुने देखिन्छ ।’

उनले थपिन्, ‘अहिले प्रि–मनसुन सक्रिय भएकाले कहाँ–कति बेला मौसम बदली हुन्छ यसै भन्न गाह्रो छ ।’ पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखाका कारण मौसम बदली भएको मौसमविद् पोखरेलेको भनाइ छ।

मौसम बदली शनिबारसम्म उस्तै रहने उनको अनुमान छ । ‘पर्सि पनि पूर्वमा त मौसम खराब नै हुने देखिन्छ, अन्य क्षेत्रमा चाहिँ केही सुधार हुने सम्भावना छ,’ उनले भनिन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: