झापामा छुट्टाछुट्टै घटनामा परी दुईको मृत्यु

बनियानी, वैशाख १३ । दुईभिन्न घटनामा झापाको कन्काई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार राति कन्काईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काई–१ दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नं को गाडीले विपरीत दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाबाट पाँचथर नागी–६ घर भई हाल कनकाई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्दै आएका ४० वर्षीय उमेश हिङमाङ गम्भीर घाइते भएका थिए । हिङ्माङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिप्रका झापाले जनाएको छ ।

यसैबीच, झापाको भद्रपुर नगरपालिका–६ मा बिहीबार राति चट्याङ लागेर सोही स्थानका ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ । राति २।३० बजे चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: