आइपीएलः हारेर पनि कोलकाताले बनायो यस्तो रेकर्ड

काठमाडौं, वैशाख १३ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बिहीबार भएको राजस्थान रोयल्ससँगकाे खेलमा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित भएको छ । यद्यपि, दिनेश कार्तिक नेतृत्वको कोलकाता अ‌ंक तालिकामा अगाडि नभए पनि सर्बाधिक छक्का प्रहार गर्ने टिमको सूचीमा भने शीर्ष स्थानमा छ ।

जारी आइपीएलमा कोलकाता १०० छक्काको आँकडा पूरा गर्ने पहिलो टिम  बनेकाे छ । उसले ११ खेलमा १०९ छक्का प्रहार गर्दै सबैभन्दा अगाडि स्थान बनाएको हाे ।

सर्बाधिक छक्का प्रहार गर्ने सूचीको शीर्ष स्थानमा रहनुको कारण हो– आन्द्रे रसेल । उनी एक्लैले मात्र यो संस्करणमा ४२ छक्का प्रहार गरेका छन् । यस्तो छ, कोलकाताका लागि धेरै छक्का प्रहार गर्ने खेलाडीको सूची–
आन्द्रे रसेल ४६
नीतिश राणा १८
क्रिस लिन १३
दिनेश कार्तिक १२
सुनिल नारायण ९

सर्बाधिक छक्का प्रहार गर्ने टिमको दोस्रो नम्बरमा पन्जाव छ । उसले ८३ छक्का प्रहार गरेको छ । यही सूचीको तेस्रो नम्बरमा विराट कोहलीको बैंग्लोर र रोहित शर्माको मुम्बई इन्डियन्स छ । यी दुवै टिमले जारी आइपीएलमा समान ७४ छक्का प्रहार गरेका छन् । यद्यपि, आज (शुक्रबार) बैंग्लोरभन्दा मुम्बई छक्का प्रहार गर्ने सूचीमा अगाडि जाने देखिन्छ । उसले आफ्नो ११औं खेलमा चेन्नईको सामना गर्दैछ ।

कमेन्ट गर्नुहोस्