यसरी जोगियो श्रीलंका विष्फोटबाट विनोद चौधरीको पाँचतारे होटल

श्रीलंका, वैशाख १३ । नेपालका उद्योगी विनोद चौधरीको श्रीलंकामा रहेको पाँचतारे होटल आत्मघाती बम विष्फोटबाट जोगिएको रहस्य बाहिर आएको छ श्रीलंकाको कोलम्बोस्थित चौधरीको पाँचतारे होटल ताज समुद्र आत्मघाती बम बिस्फोटबाट जोगिएको समाचार न्यूयोर्क टाइम्सले लेखेको छ ।

अन्तर्राष्ट्रिय आतंककारी संस्था इस्लामिक इस्टेट आइएसले कोलम्बोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेटमा चौधरीको होटल ताज समुन्द्र पनि परेको थियो ।

आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामग्री झोलाभरी बोकेर उक्त होटलमा पुगेका र प्राविधिक कारणले विष्फोट नहुँदा होटल र त्यहाँ रहेका पाहुना तथा कर्मचारीहरु सकुशल रहन सफल भएका श्रीलंकाका अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ । ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजेको तर प्राविधिक समस्याले नपड्किएको श्रीलंका प्रहरीले जनाएको छ।

समुद्र किनारमा रहेको पाँचतारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए । त्यहीँ आत्मघाती बम बिस्फोट भएर उनको मृत्यु भएको थियो । सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ।

ताज समुद्रमा बम पड्केको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने श्रीलंकन प्रहरीको भनाइ छ । समुद्री तटमा रहेको कोलम्बोको प्रख्यात चौधरीको ताज समुद्र होटल प्रायः जसो विदेशी पाहुनाहरूले भरिभराउ हुने गर्छ । ताज समुद्र होटल चौधरीले भारतको प्रसिद्ध ताज समूह’सँगको साझेदारीमा खोलेका थिए । चौधरी समूहले संसारभर नै कैयौं होटल र रिसोर्ट चेन सञ्चालन गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: