आइपीएलः चेन्नईले जित्यो टस, मुम्बईलाई ब्याटिङको मौका

काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्स विरुद्धको खेलमा चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । आज चेन्नईमा नियमित कप्तान महेन्द्रसिंह धोनी छैनन् । फिटनेस समस्याका कारण उनलाई मुम्बईविरुद्ध विश्राम दिइएको छ । आज टिमको कप्तानी सुरेश रैनाले सम्हाल्ने छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईमा शुरु हुँदैछ । तीन–तीन पटक आइपीएल विजेता टिम भएकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यो संस्करणको आइपीएलमा चेन्नईले ‘होम ग्राउन्ड’ मा हार बेहोरेको छैन । जारी सिजनमा उसले चितम्बरम स्टेडियममा भएका पाँचै खेलमा जीत हात पारेको छ ।

चेन्नई ११ म्याच खेल्दा १६ अंककासाथ तालिकाको शीर्ष स्थानमा छ । ११ खेलमा धोनीको टिमले ८ मा जीत हात पार्दा ३ खेलमा मात्र पराजयको स्वाद चाखेको छ ।

यता, रोहित शर्मा नेतृत्वको मुम्बई लिग तालिकामा १२ अंककासाथ तेस्रो स्थानमा छ । उसले १० खेल खेल्दा ६ मा जीत र ४ खेलमा हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: