श्रीमानले आगो लगाउँदा गम्भीर घाइते भएकी कञ्चनको उपचारका क्रममा मृत्यु

सिरहा, वैशाख १३ । श्रीमानले मट्टीतेल खन्याएर जलाएकी सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले बिहीबार मट्टीतेल खन्याएर जलाएका थिए ।

आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको उपचारका क्रममा शुक्रबार पौने ६ बजे काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानबाट रेफर गरिएकी कञ्चनलाई शुक्रबार दिउँसो सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको केही घण्टापछि उनको ज्यान गएको माइतपक्षले जनाएको छ ।

बिहीबार बिहान झण्डै ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर श्रीमानले जलाएका थिए । आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले अवस्थामा गम्भीर घाइते फेला परेकी कञ्चनको तत्कालै उपचारका लागि धारान लगिएको थियो ।

घटनापश्चात कञ्चनका पति बेचन फरार छन् भने उनकी सासूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्