नेपालसँग ८६ रनमैं समेटियाे हङकङ

काठमाडौं, वैशाख १४ । एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङलाई ८६ रनमै समेटेको छ ।

थाइल्याण्डको चियाङमाईमा जारी खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दै हङकङलाई ३२.२ ओभरमा ‘अल आउट’ गर्दै ८६ रनमै समेटेको हो । नेपालका लागि निखिलकुमार सिंहले कसिलो बलिङ गर्दै ६ ओभर दुई बलमा १६ रन दिएर चार विकेट लिए ।

त्यस्तै विशालकुमार पटेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए भने तिलकराज भण्डारीले एक विकेट लिए । हङकङका लागि आरुष भागवतले ४३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु नेपाली बलरले १६ वाइड र चार रन ‘बाइ’ गरी हङकङलाई २० रन अतिरिक्त दिएका थिए ।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ को उपविजेता हङकङसँग फाइनल प्रवेशका लागि प्रतिश्पर्धा गर्दैछ ।

साविक विजेतासमेत रहेको नेपाललाई फाइनल पुग्न दबाब छ । अघिल्लो संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताअन्तर्गत नै अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता सिंगापुरले समूह ‘ए’ को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्दै छ ।

कमेन्ट गर्नुहोस्