कोलम्बो, वैशाख १४ । श्रीलंकामा गत साता भएका शृङ्खलाबद्ध बम विष्फोटमा संलग्न आतंकवादीको खोजी गर्ने क्रममा फेरि ठूलो विष्फोट भएको छ ।
सिरियल ब्लाष्टसँग जोडिएका संदिग्ध व्यक्तिहरु खोजी गर्ने क्रममा देशको बट्टीकलोआ क्षेत्रमा रहेको नेशनल तौहीद जमात (एनटीजे) का ठेगानाहरुमा छापा मार्दा विष्फोट भएको हो ।
यो क्रममा दोहोरो मुठभेड भएको छ । आतंककारिहरुले गोली चलाएको अधिकारिहरुले जनाएका छन् । यसै क्रममा एकजना आत्मघाति हमलावरले आफैलाई उडाउँदा १५ जनाको मृत्यु भएको छ । मृतकहरुमा ६ बालक र ३ जना महिला छन् । २१ अप्रिलका दिन भएका विष्फोटमा २५३ जनाको मृत्यु भएको थियो ।
आजको आत्मघाति विष्फोटमा ४ जना आतंकवादि समेत मारिएको सेनाका प्रवक्ताले जनाएका छन् । आतंकपादि लुकेको स्थानबाट सुरक्षाकर्मीले आईएसका झण्डा, सेनाको बर्दी, सुसाईड ज्याकेट, १५० जिलेटिनका छड, हजारौं स्टील प्लेट, ड्रोन र क्यामेरा बरामद गरेको छ ।
आतंकवादिहरुको खोजीका लागि १० हजार सैनिक परिचालन गरिएको छ । अहिलेसम्म एकसय बढि पक्राउ परिसकेका छन् ।