‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा सहभागी हुन चिनियाँ राष्ट्रपति सिको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गरेका छन। राष्ट्रपति सीले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरूलाई पनि आग्रह गरेका हुन।

बेइजिङमा जारी बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सो धारणा राख्नुभएको हो। उनले चीनको उक्त आयोजनामा थप देशहरूलाई आबद्ध हुन आग्रह पनि गरेको बताइएको छ। उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरू उपस्थित भएका छन।

तीन दिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले भने, ‘हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्छ।‘ सो सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभागिता रहेको थियो।

सो सम्मेलनमा राष्ट्रपति जिनपिङले चीन उक्त आयोजनामा बढी भन्दा बढी देशको सहभागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन भन्ने चाहेको धारणा राखेका थिए। साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको उनले बताए। त्यसैले धेरै भन्दा धेरै देश एवम् कम्पनीहरूको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरूको रहेको पनि उनले बताए। तर पनि कतिपय विश्वका देशहरूले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेका बताइन्छ।

उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्री छन् भने विश्वका १४० भन्दा बढी देशको सहभागिता रहेको छ। बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिइ आएको छ। चीनको राष्ट्रपतिमा सी जिनपिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएर अघि सारेका थिए।

चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ। यस पटकको सम्मेलनमा पनि बेइजिङमा यस बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरूमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफलहरू जरी रहेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: